वर्षासँगै मकवानपुरका किसान मकै रोपाइँमा व्यस्त, सुख्खापछि राहत
हेटौंडा । केही दिनअघि परेको वर्षापछि मकवानपुरका ग्रामीण भेगका किसानहरू मकै रोपाइँमा सक्रिय बनेका छन्। लामो समयसम्मको सुख्खाले चिन्तित बनेका किसानहरू पानी परेसँगै राहत महसुस गर्दै बारी जोत्न र बीउ छर्न जुटेका हुन्।
हेटौंडा उपमहानगरपालिका सहित मकवानपुरगढी, भीमफेदी, इन्द्रसरोवर, राक्सिराङ, कैलाश, बकैया र मनहरी क्षेत्रमा यतिबेला खेतबारीमा किसानको चहलपहल उल्लेखनीय रूपमा बढेको छ। बिहानदेखि बेलुकासम्म परिवारका सदस्यहरू मिलेर रोपाइँ कार्यमा लागिरहेका छन्।
मकवानपुरगढी गाउँपालिका–५ का किसान उमेश तामाङका अनुसार लामो समय पानी नपर्दा रोपाइँ प्रभावित भएको थियो। “पानी परेपछि माटो भिज्यो, अब मकै रोप्न सहज भएको छ,” उनले भने। समयमै वर्षा भएका कारण उत्पादन पनि राम्रो हुने अपेक्षा गरिएको उनले बताए।
कृषि प्राविधिकहरूका अनुसार मकै रोप्न चैत–बैशाख उपयुक्त समय हो। यस अवधिमा परेको पानीले माटोमा आवश्यक चिस्यान कायम राख्ने भएकाले बीउ उम्रिन अनुकूल वातावरण बन्छ।
तर अत्यधिक वा निरन्तर वर्षा भएमा बालीमा नकारात्मक असर पर्न सक्ने भन्दै विज्ञहरूले किसानलाई सावधानी अपनाउन सुझाव दिएका छन्।
मकवानपुर जिल्लामा मकै प्रमुख खाद्यान्न बालीका रूपमा उत्पादन हुँदै आएको छ। यहाँ उत्पादित मकै घरायसी उपभोगका साथै पशुपालनका लागि पनि महत्वपूर्ण मानिन्छ।
यस वर्ष समयमै वर्षा सुरु भएकाले उत्पादनमा वृद्धि हुने आशा गरिएको छ। हाल किसानहरू बारी तयारी, मल व्यवस्थापन तथा बीउ छर्ने कार्यमा व्यस्त छन्।

पालिका संचारकर्मी 






