चेपाङ समुदायको न्वागी पर्व : राक्सिराङमा दुई दिन सार्वजनिक बिदा

पालिका संचारकर्मी
१७ भाद्र २०८३, बुधबार १०:३९

हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा पालिकाभर दुई दिन स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गाउँपालिकाले भदौ २२ र २३ गते सोमबार र मंगलबार बिदा दिने जनाएको हो।

चेपाङ समुदायको बाक्लो बसोबास रहेको राक्सिराङमा न्वागी पर्व विशेष महत्वका साथ मनाइन्छ। पर्वको पहिलो दिन घरमा नयाँ खाद्यान्न तथा प्राकृतिक वनस्पति राखेर पूजा गर्ने र रातभर एकपाखे ढ्याङ्ग्रो बजाउने परम्परा छ। दोस्रो दिन बिहान पितृ पूजा गरी नयाँ अन्न तथा प्रसाद ग्रहण गर्दै आफन्तसँग पर्व मनाउने गरिन्छ।

यस वर्ष रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएकाले गाउँपालिकाले न्वागी पर्व तडकभडक नगरी सादगीपूर्ण रूपमा मनाउन आग्रह गरेको छ। गाउँपालिकाले बुधबार सूचना जारी गर्दै विपद् प्रभावितप्रति समवेदना व्यक्त गर्दै परिवार र आफन्तसँग सामान्य ढंगले पर्व मनाउन अनुरोध गरेको हो।

राक्सिराङमा करिब ४४ प्रतिशत चेपाङ समुदायको बसोबास रहेको छ। न्वागीमा घैया धान, गाभा, निबुवा, घिरौलालगायत नयाँ उब्जनी तथा कन्दमूल पितृलाई चढाएर भूमि पूजा गर्ने चलन छ। नयाँ बाली पितृलाई नचढाई खाएमा अनिष्ट हुने जनविश्वासका कारण चेपाङ झाँक्री (पान्दे) ले रातभर ढ्याङ्ग्रो बजाउँदै पूजा गर्ने परम्परा रहेको छ।