भोटेकोशी बाढी प्रभावितका लागि मकवानपुर बहुमुखी क्याम्पसमा रक्तदान

पालिका संचारकर्मी
१६ भाद्र २०८३, मंगलवार १४:००

हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको उपचारमा आवश्यक रगत जुटाउने उद्देश्यले नेपाल विद्यार्थी संघ मकवानपुर बहुमुखी क्याम्पस इकाइ समितिले रक्तदान कार्यक्रम आयोजना गरेको छ।

मंगलबार क्याम्पस परिसरमा आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक तथा सर्वसाधारण गरी ४४ जनाले रक्तदान गरेका छन्। नेपाल रेडक्रस सोसाइटी हेटौंडाको प्राविधिक सहयोगमा कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ।

इकाइ समितिका सभापति सागर घिमिरेले विपद्का बेला घाइते तथा बिरामीको उपचारमा रगतको माग बढ्ने भएकाले मानवीय सेवाका रूपमा कार्यक्रम आयोजना गरिएको बताए।

उनले संकलित रगत बाढी प्रभावित तथा उपचाररत बिरामीको आवश्यकतामा प्रयोग गरिने जानकारी दिए। साथै, विद्यार्थी तथा युवालाई सामाजिक र मानवीय सेवामा सक्रिय बनाउन यस्ता कार्यक्रमले योगदान पुग्ने उनको भनाइ छ।

नेविसंघ क्याम्पस इकाइले आगामी दिनमा पनि सामाजिक तथा मानवीय सेवासँग सम्बन्धित कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।