चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको जोखिम

पालिका संचारकर्मी
१३ कार्तिक २०८३, बिहीबार १२:४३

बंगालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अर्नब’को प्रभावले नेपालका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ।

मौसमविद्का अनुसार भारतको जमिनमा प्रवेश गरेपछि चक्रवात क्रमशः कमजोर हुँदै जाने भए पनि यसले ल्याउने ओसिलो हावा र पश्चिमी वायुसँग सम्बन्धित माथिल्लो तहको न्यूनचापीय प्रणालीबीचको अन्तरक्रियाले नेपालमा वर्षा गराउन सक्छ।

मौसमविद् विनोद पोखरेलका अनुसार लुम्बिनी र गण्डकीदेखि कोसी प्रदेशसम्मका धेरै जिल्लामा भारी वर्षा हुने सम्भावना छ। विशेषगरी बिहीबार साँझदेखि शनिबार बिहानसम्मको करिब ३६ घण्टाको अवधिमा बढी सतर्क रहनुपर्ने उहाँले बताउनुभएको छ।

यद्यपि, वर्षाको स्थान, समय र मात्रा परिवर्तन हुन सक्ने उहाँको भनाइ छ।

यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चक्रवातको सम्भावित प्रभावलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्राधिकरणका अनुसार कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा हुन सक्छ। कर्णाली र सुदूरपश्चिमका केही स्थानमा पनि वर्षाको सम्भावना छ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमसमेत रहेको प्राधिकरणले जनाएको छ।

सम्भावित जोखिमबाट जोगिन उच्च पहाडी तथा हिमाली क्षेत्रमा अनावश्यक यात्रा नगर्न, अत्यावश्यक कामबाहेक यात्रा नगर्न तथा नदी र खोलाका किनार एवं बाढीको जोखिम भएका क्षेत्रमा नबस्न प्राधिकरणले अनुरोध गरेको छ।

त्यस्तै, मौसम पूर्वानुमान तथा आधिकारिक पूर्वसूचनालाई नियमित रूपमा अवलोकन गर्न र विपद्को जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा जान पनि आग्रह गरिएको छ।