अर्नब चक्रवातका कारण भारतमा ५ जनाको मृत्यु
बंगालको खाडीबाट उत्पन्न भएको अर्नब चक्रवातका कारण भारतमा ५ जनाको मृत्यु भएको छ। भारतीय अनलाइन दैनिक भास्करका अनुसार चक्रवातको प्रभावले आन्ध्र प्रदेश र ओडिसामा गरी ५ जनाले ज्यान गुमाएका हुन्।
चक्रवात मंगलबार बिहान ३:३० बजे आन्ध्र प्रदेशको तटमा ठोक्किएको थियो। त्यसबेला १२५ देखि १३५ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको थियो भने भारी वर्षा भएको थियो। चक्रवातको प्रभाव अहिले भारतका १५ राज्यमा देखिएको छ। मध्य प्रदेश, राजस्थान, बिहार र उत्तर प्रदेश लगायतका राज्यमा बिहीबार रातिदेखि वर्षा भइरहेको छ। यो क्रम आगामी दुई दिनसम्म जारी रहने अनुमान गरिएको छ।
मध्य प्रदेशका सतना, कटनी र छतरपुर लगायतका जिल्लामा बुधबारदेखि नै वर्षा भइरहेको छ। राजस्थानको भरतपुर र कोटा डिभिजनका केही क्षेत्रमा पनि वर्षा भएको छ। मौसममा आएको परिवर्तनका कारण जयपुर, पिलानी, सिकर, बारमेर र चुरु लगायतका सहरमा तापक्रम २ डिग्री सेल्सियससम्म घटेको छ। सिकरमा रातको तापक्रम १०.५ डिग्री सेल्सियस मापन गरिएको छ।
चक्रवातको प्रभावलाई मध्यनजर गर्दै छत्तीसगढका १२ जिल्ला र ओडिसाका १६ जिल्लामा विद्यालयहरू बन्द गर्ने आदेश दिइएको छ। ओडिसामा करिब ३० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

पालिका संचारकर्मी 




