इन्द्रसरोवरमा मिनी ट्रक दुर्घटना, चालक घाइते; सहचालक सम्पर्कविहीन
मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ बतासे डाँडामा खाद्यान्न बोकेको मिनी ट्रक सडकबाट खस्दा चालक घाइते भएका छन् भने सहचालक बेपत्ता भएका छन्।
बिहीबार बिहान करिब ६ बजे हेटौँडाबाट दक्षिणकाली हुँदै काठमाडौं जाँदै गरेको प्र.०३–०१–००३ क ५६०५ नम्बरको मिनी ट्रक हेटौँडा–भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डबाट करिब १०० मिटर तल खसेर दुर्घटनामा परेको हो।
दुर्घटनाको सूचना पाएलगत्तै प्रहरी चौकी खानीखेत र इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी निरीक्षक सनम मल्लको कमाण्डमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थल पुगेको थियो।
दुर्घटनामा धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ का २६ वर्षीय चालक पुष्पराज भुजेल घाइते भएका छन्। उनको निधार, दाहिने हात तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ। घाइते भुजेललाई उपचारका लागि काठमाडौं पठाइएको छ। उनको अवस्था मध्यम रहेको छ।
मिनी ट्रकमा चालकसँगै रहेका सोही ठाउँका २१ वर्षीय सहचालक रमेश विक भने दुर्घटनापछि घटनास्थलमा फेला परेका छैनन्। उनको खोजी तथा उद्धारका लागि प्रहरी टोली परिचालन गरिएको छ।

पालिका संचारकर्मी 





