पूर्व–पश्चिम राजमार्गमा EV र सुमो आपसमा ठोक्किँदा ११ जना घाइते
पालिका संचारकर्मी
हेटौंडा । मकवानपुरको हेटौंडा–१५ पिपलबोटमा EV र सुमो ठोक्किँदा ११ जना घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत पिपलबोटमा बुधबार दिउँसो करिब १२ः३० बजे काठमाडौं–वीरगञ्जतर्फ जाँदै गरेको बा.प्र.०६–००१ ज.०६९७ नम्बरको EV र विपरीत दिशाबाट आउँदै गरेको ना.१ ज.५८७३ नम्बरको सुमो आपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा सुमो चालकसहित ६ जना र EV चालकसहित ५ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते सबैलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको छ ।
प्रहरीका अनुसार सुमो चालक रविन्द्र उपाध्यायको दुवै खुट्टा र ढाडमा चोट लागेको छ । सुमोमा सवार राधिका देवीको टाउको र छातीमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको छ भने अन्य घाइतेको अवस्था सामान्य छ ।
EV चालक सोमबहादुर गुरुङको छातीमा चोट लागेको छ । EV मा सवार खजिना खातुन, हरिन्द्र राय, राकेश महन्त र शत्रुधन कुशहवालाई पनि चोट लागेको छ ।
दुर्घटनामा दुवै सवारीसाधनमा क्षति पुगेको छ । सवारीसाधन प्रहरी चौकी रातोमाटेको नियन्त्रणमा छन् भने दुर्घटनापछि राजमार्गमा यातायात अवरुद्ध नभएको प्रहरीले जनाएको छ । घटनास्थलमा ट्राफिकसहितको प्रहरी टोली खटिएको छ ।







