हेटौँडा–७ मा आजदेखि पाँचदिने निःशुल्क योग विज्ञान शिविर सुरु हुँदै
हेटौँडा । नसर्ने रोगको जोखिम न्यूनीकरण तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले हेटौँडा–७ मा आजदेखि पाँचदिने निःशुल्क बृहत् योग विज्ञान शिविर सुरु हुँदैछ ।
पतञ्जली योग समिति ७ नम्बर वडा समिति हेटौँडा, मकवानपुरको आयोजनामा कात्तिक १३ देखि १७ गतेसम्म नवज्योति माध्यमिक विद्यालयको प्राङ्गणमा शिविर सञ्चालन हुन लागेको हो । शिविर हेटौँडा उपमहानगरपालिका–७ को आर्थिक सहयोगमा आयोजना गरिएको हो ।
शिविरमा पतञ्जली योग समिति नेपालका प्रशिक्षक लवदेव मिश्रले प्रशिक्षण दिने कार्यक्रम रहेको आयोजकले जनाएको छ । सहभागीलाई योगासन, आहार–विहार, एक्युप्रेसर तथा मुद्रालगायत विषयमा निःशुल्क प्रशिक्षण दिइनेछ ।
योग कसरी गर्ने, कसले गर्न मिल्छ र दैनिक जीवनमा योगलाई कसरी अपनाउन सकिन्छ भन्ने विषयमा समेत जानकारी दिइने आयोजकले जनाएको छ ।
पतञ्जली योग समितिले २०६७ सालदेखि हेटौँडा–७ तथा आसपासका क्षेत्रमा ‘गरौँ योग, रहौँ निरोग’ भन्ने नारासहित निःशुल्क योग शिविर तथा अभ्यास सञ्चालन गर्दै आएको छ । ‘घर–घरमा योग, जन–जनमा योग’ अभियानमार्फत योग अभ्यासको पहुँच विस्तार गर्ने र नागरिकलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने समितिको उद्देश्य रहेको छ ।
पतञ्जली योग जिल्ला समिति मकवानपुरका अध्यक्ष रामकृष्ण थापाले नियमित योग अभ्यास, सकारात्मक सोच र सन्तुलित खानपानले नसर्ने रोगको जोखिम न्यूनीकरणमा सहयोग पुर्याउने बताए । क्यान्सर, मधुमेह, मुटुसम्बन्धी समस्या तथा थाइराइडलगायत नसर्ने रोगको व्यवस्थापनमा योग सहयोगी अभ्यासका रूपमा रहने उनको भनाइ छ ।
समितिका प्रचार–प्रसार संयोजक नवराज खतिवडाले शारीरिक तथा मानसिक स्वास्थ्यमा सुधार ल्याउनुका साथै संस्कार र संस्कृतिका मूल्य–मान्यता प्रवर्द्धन गर्ने उद्देश्यले शिविर आयोजना गरिएको बताए ।
आयोजकले योगलाई दैनिक जीवनशैलीको हिस्सा बनाउन तथा स्वस्थ नागरिक निर्माणको अभियानमा सहभागी हुन सबैलाई आग्रह गरेको छ ।

पालिका संचारकर्मी 






