लगातार वर्षाका कारण कान्ति राजमार्गमा राति १२ घण्टा सवारी आवागमन बन्द
मकवानपुर, १३ कात्तिक । बंगालको खाडीमा बनेको चक्रवात ‘अर्नब’को प्रभावका कारण लगातार वर्षा भएपछि मकवानपुरमा कान्ति राजमार्गमा रातिको समयमा सवारी आवागमन बन्द गरिएको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै कात्तिक १३ र १४ गते दुई दिन कान्ति राजमार्गमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाएको हो।
प्रशासनका अनुसार कात्तिक १२ गतेदेखि जिल्लामा निरन्तर वर्षा भइरहेको छ। वर्षाका कारण सडक तथा राजमार्गमा बाढी र पहिरोको उच्च जोखिम रहेकाले सम्भावित मानवीय तथा भौतिक क्षति हुन नदिन सवारी आवागमन रोक्ने निर्णय गरिएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी रोशनकुमार पौडेलद्वारा जारी सूचनामा उक्त अवधिमा सवारी साधन सञ्चालन तथा यात्रा नगर्न सम्बन्धित सबैलाई जानकारी गराइएको छ।

पालिका संचारकर्मी 






