भीमफेदीमा सडक पार गर्दै गरेकी महिलालाई बसले ठक्कर दिँदा घटनास्थलमै मृत्यु
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–८ ईपादेउरालीमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
बिहीबार बिहान करिब ७ः३० बजे ईपादेउराली–कोगटे–भीमफेदी–हेटौँडा भित्री सडकखण्डमा भएको दुर्घटनामा स्थानीय ६३ वर्षीया लीलादेवी खत्रीको मृत्यु भएको हो।
प्रहरीका अनुसार ईपाबाट हेटौँडातर्फ आउँदै गरेको बा २ ख ९४३० नम्बरको बसबाट झरेपछि सडक पार गर्ने क्रममा सोही बसले खत्रीलाई ठक्कर दिएको थियो। बसको ठक्करबाट टाउकोमा गम्भीर चोट लागेकी उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय भीमफेदी र ठिङ्गनबाट ट्राफिक प्रहरीसहितको टोली घटनास्थल पुगेको थियो।
बस घटनास्थलमै रहेको र चालक भीमफेदी गाउँपालिका–७ कोगटे निवासी ४३ वर्षीय राजु आचार्य प्रहरीको सम्पर्कमा रहेको जनाइएको छ। घटनास्थलको मुचुल्का तयार गर्ने कार्यसँगै प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

पालिका संचारकर्मी 





