हेटौंडाकी १७ वर्षीया अनिशा मृत्यु प्रकरणमा एक कारागार, एक धरौटीमा रिहा

पालिका संचारकर्मी
१७ भाद्र २०८३, बुधबार १०:४३

हेटौँडा । हेटौँडामा १७ वर्षीया अनिशा बिकको शंकास्पद मृत्यु प्रकरणमा आरआर दोहोरी तथा थकाली घरका म्यानेजर सुवास स्याङ्ताङ पुर्पक्षका लागि कारागार चलान भएका छन् । दोहोरीका सञ्चालक राजकुमार मोक्तान भने एक लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।

भरतपुर महानगरपालिका–११ घर भई हाल हेटौँडा–१० मा बस्दै आएकी बिकको शंकास्पद अवस्थामा मृत्यु भएपछि प्रहरीले म्यानेजर स्याङ्ताङ र सञ्चालक मोक्तानलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो । घटनाबारे मृतकका परिवारले हत्या भएको दाबी गर्दै किटानी जाहेरी दिएका थिए ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार २९ वर्षीय स्याङ्ताङलाई भदौ ११ गते पुर्पक्षका लागि भीमफेदी कारागार पठाइएको हो । यस्तै, ४५ वर्षीय मोक्तानलाई मकवानपुर जिल्ला अदालतले एक लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।

घटनाको अनुसन्धानका क्रममा दुवै जनालाई प्रहरी नियन्त्रणमा लिइएको थियो । प्रहरीले घटनाको प्रकृति तथा प्राप्त प्रमाणका आधारमा अनुसन्धान अघि बढाएको जनाएको छ । यसअघि पनि घटनाको वास्तविक कारण पत्ता लगाउन पोस्टमार्टम, फरेन्सिक परीक्षण तथा अन्य प्रमाणका आधारमा अनुसन्धान भइरहेको बताइएको थियो ।

मृतक परिवारले भने अनिशाको मृत्यु नभई हत्या भएको दाबी गर्दै दोषीमाथि कारबाहीको माग गर्दै आएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।