हेटौँडा–काठमाडौं आवागमनमा नयाँ रुट व्यवस्था, जाँदा–आउँदा फरक बाटो
हेटौँडा । हेटौँडा–काठमाडौं सडकखण्डमा सवारीसाधनको चाप बढेपछि मकवानपुर प्रशासनले आजदेखि नयाँ रुट व्यवस्था लागू गरेको छ। नयाँ व्यवस्थाअनुसार साना यात्रुवाहक सवारीसाधनले काठमाडौं जाँदा र फर्किँदा फरक–फरक सडक प्रयोग गर्नुपर्नेछ।
१४ सिटभन्दा कम क्षमताका यात्रुवाहक सवारीले हेटौँडाबाट काठमाडौं जाँदा भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक प्रयोग गर्नुपर्नेछ। काठमाडौंँबाट हेटौँडा फर्किने सवारीले भने फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी मार्ग अपनाउनुपर्नेछ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीका अनुसार मालवाहक तथा ठूला यात्रुवाहक सवारीका लागि पनि छुट्टै रुट तोकिएको छ। ती सवारीले काठमाडौं जाँदा त्रिभुवन राजपथ र फर्किँदा कान्ति राजमार्ग प्रयोग गर्नुपर्नेछ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौं आवतजावत गर्ने सवारीको चाप बढेको प्रशासनले जनाएको छ। वैकल्पिक सडकमा समेत लामो जाम हुन थालेपछि सवारी आवागमन सहज बनाउन रुट व्यवस्थापन गरिएको हो।
प्रशासनले दिशाअनुसार सवारीलाई छुट्टाछुट्टै मार्गबाट सञ्चालन गर्दा वैकल्पिक सडकमा हुने जाम घट्ने र यात्रुको आवतजावत सहज हुने अपेक्षा गरेको छ।

पालिका संचारकर्मी 





