भोटेकोशी बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार सहयोग गर्ने

पालिका संचारकर्मी
१५ भाद्र २०८३, सोमबार ०५:४६

हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने भएको छ।

प्रदेश कार्यसमितिको बैठकले उक्त रकम विपद् व्यवस्थापन कोषमा जम्मा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत सहयोग गर्ने निर्णय गरेको हो।

बैठकले रसुवा, नुवाकोट र धादिङमा भएको क्षतिको प्रभावकारी व्यवस्थापनसँगै बेपत्ता नागरिकको खोजी तथा उद्धार तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ। घाइतेको निःशुल्क उपचार, बिरामी तथा कुरुवाको व्यवस्थापन र आवश्यक औषधिको सहज उपलब्धता सुनिश्चित गर्न पनि माग गरिएको छ।

बाढी प्रभावित क्षेत्रमा पार्टीको प्रदेशदेखि वडा तथा टोल तहसम्मको संरचना परिचालन गर्ने निर्णय गर्दै उद्धार, राहत र पुनःस्थापनाका लागि समन्वय गर्न प्रदेश प्रवक्ता तिलकप्रसाद रुवालीको संयोजकत्वमा समिति गठन गरिएको छ।

कांग्रेसले प्रभावित क्षेत्रमा आवतजावत सहज बनाउन वैकल्पिक सडक, झोलुङ्गे पुल र बेलीब्रिज निर्माण तथा घरबारविहीन परिवारको अस्थायी र स्थायी पुनःस्थापनाको व्यवस्था गर्न प्रदेश सरकारसँग माग गरेको छ।