हेटौँडामा नेपाल जेसीज क्षेत्र ‘ख’ सम्मेलन–२०२६ आयोजना हुने
पालिका संचारकर्मी हेटौँडा । युवाको नेतृत्व क्षमता, व्यक्तित्व विकास र सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले हेटौँडामा नेपाल जेसीज क्षेत्र ‘ख’ सम्मेलन–२०२६ आयोजना हुने भएको छ।
जेसीआई हेटौँडा लेडीको आतिथ्यतामा भदौ १९ र २० गते हुने सम्मेलनको तयारी पूरा भएको आयोजकले जनाएको छ। ‘संकल्प गरौँ, कार्य गरौँ, सफलता हासिल गरौँ’ भन्ने नाराका साथ हुने सम्मेलनमा क्षेत्र ‘ख’ अन्तर्गतका ४२ शाखाबाट ७ सयभन्दा बढी प्रतिनिधि तथा सहभागी सहभागी हुने सम्मेलन निर्देशक जेसी सुशिला पौडेलले जानकारी दिनुभयो।
सम्मेलनमा ११ जिल्लाका जेसीज सदस्य तथा पदाधिकारीसँगै सक्रिय युवा र विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहनेछ।
सम्मेलनका लागि करिब ४५ देखि ५५ लाख रुपैयाँसम्म खर्च हुने अनुमान गरिएको छ। सम्मेलन सभापति जेसी सोप्ना पौडेल भण्डारीका अनुसार सहभागीको दर्ता शुल्क, संघसंस्था तथा शुभेच्छुकको सहयोग र विभिन्न सहयोगी निकायको सहकार्यबाट खर्च व्यवस्थापन गरिनेछ। आर्थिक व्यवस्थापनमा पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिइने आयोजकले जनाएको छ।
यसैबीच, रसुवाको टिमुरे क्षेत्रमा भदौ १० गते भएको दुःखद घटनाप्रति जेसीआई हेटौँडा लेडीले दुःख व्यक्त गरेको छ। संस्थाले दिवंगतप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै घाइते तथा बिरामीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
नेपाल जेसीजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार, राहत तथा पुनःस्थापना कोषमार्फत १० लाख रुपैयाँ सहयोग गरिसकेको जानकारी पनि पत्रकार सम्मेलनमा दिइएको छ। देशभरका ८० भन्दा बढी जेसीज शाखामार्फत प्रभावित क्षेत्रमा राहत तथा सहयोग वितरण गरिएको आयोजकको भनाइ छ।
दिवंगतप्रति सम्मान र प्रभावितप्रति ऐक्यबद्धता जनाउँदै सम्मेलनको दोस्रो दिन भदौ २० गते बिहान ७ बजे शान्ति पदयात्रा आयोजना गरिनेछ। शान्ति, सद्भाव, एकता र मानवताको सन्देश प्रवाह गर्ने उद्देश्यले पदयात्रा गर्न लागिएको आयोजकले जनाएको छ।
पत्रकार सम्मेलनमा जेसीआई हेटौँडा लेडीका अध्यक्ष जेसी नम्रता श्रेष्ठ, निवर्तमान अध्यक्ष जेसी रश्मि बस्नेतलगायतको उपस्थिति थियो।








