उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, पाइलटसँग सम्पर्क हुन सकेन

पालिका संचारकर्मी
१४ कार्तिक २०८३, शुक्रबार १६:०३

काठमाडौँ । भारतको उत्तराखण्डस्थित प्रसिद्ध तीर्थस्थल बदरीनाथ धामबाट फर्किँदै गरेको हेलिकप्टर शुक्रबार दुर्घटनामा परेको छ। दुर्घटनापछि हेलिकप्टरका पाइलटसँग सम्पर्क हुन नसकेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रारम्भिक जानकारीअनुसार हेलिकप्टर बदरीनाथबाट देहरादुनस्थित सहस्रधाराका लागि उडेको थियो। चमोली जिल्ला हुँदै देहरादुनतर्फ आउँदै गरेको हेलिकप्टरमा चालक दलका सदस्यबाहेक ६ जना यात्रु सवार रहेको बताइएको छ।

घटनालगत्तै उत्तराखण्ड नागरिक उड्डयन विकास प्राधिकरण र प्रहरीको टोली उद्धार तथा खोजीमा जुटेको छ। उद्धार टोलीले रेडियो तथा अन्य सञ्चार माध्यमबाट पाइलटसँग सम्पर्क स्थापित गर्ने प्रयास गरे पनि हालसम्म सफलता मिलेको छैन।

सम्बन्धित क्षेत्रमा मौसम प्रतिकूल रहेकाले खोजी कार्य प्रभावित भएको छ। खराब मौसमका बीच पनि ड्रोनको सहायताले हेलिकप्टरको अवस्थिति पत्ता लगाउने प्रयास भइरहेको प्रशासनले जनाएको छ।

हेलिकप्टर दुर्घटनाको यकिन कारण र त्यसमा सवार यात्रुहरूको अवस्थाबारे थप विवरण आउन बाँकी छ।एजेन्सी