डिजेल ट्याङ्कर, ईभी हाइस र मोटरसाइकल ठोक्किँदा १० जना घाइते
हेटौँडा–पथलैया सडकखण्डमा डिजेल बोकेको ट्याङ्कर, ईभी हाइस र मोटरसाइकल एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्।
शुक्रबार दिउँसो करिब १२ बजे जितपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्जस्थित नेपाल आयल निगमको डिपो नजिकै दुर्घटना भएको हो।
अमलेखगञ्जबाट जनकपुरतर्फ जाँदै गरेको ना.४ ख २३४९ नम्बरको डिजेल ट्याङ्करमा वीरगञ्जबाट हेटौँडातर्फ आउँदै गरेको ग.२ ख १९९३ नम्बरको ईभी हाइस ठोक्किएको थियो। सोही क्रममा ईभी हाइसको पछाडि धरानबाट हेटौँडातर्फ आउँदै गरेको अनटेस्ट मोटरसाइकलसमेत ठोक्किएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
दुर्घटनामा ट्याङ्कर चालक जितपुरसिमरा उपमहानगरपालिका–१६ पिलुवा निवासी ५० वर्षीय चेतनाथ खरेल र ईभी चालक कास्कीको पोखरा महानगरपालिका–५ निवासी ३८ वर्षीय आशिष मल्लसहित १० जना घाइते भएका छन्।
घाइतेमध्ये ईभीमा सवार वीरगञ्ज महानगरपालिका–२ की ४५ वर्षीया समिना खातुन, उनकी करिब २५ वर्षीया छोरी सखीना खातुन, जितपुरसिमरा निवासी २२ वर्षीया आशिका श्रेष्ठ, पोखरा महानगरपालिका–१८ साराङकोटका ४३ वर्षीय मनोज थापा क्षेत्री, भारतको पूर्वी चम्पारण निवासी ७० वर्षीय नवल किशोर साह, प्रसौनी गाउँपालिका–२ निवासी २४ वर्षीय कुनिल पण्डित कुम्हार र भारतको पश्चिम बंगाल हुग्ली निवासी २६ वर्षीया साबनि दास रहेका छन्। त्यस्तै, मोटरसाइकल चालक सुनसरीको धरान उपमहानगरपालिका–१६ निवासी २४ वर्षीय सरोज गुभाजु पनि घाइते भएका छन्।
प्रहरीका अनुसार घाइते सबैको अवस्था सामान्य रहेको छ। उनीहरूको अमलेखगञ्जस्थित अक्कलबहादुर कार्की मेडिकल तथा नोभाकेयरमा उपचार भइरहेको छ।
दुर्घटनापछि केही समय सडक एकतर्फी सञ्चालन गरिएको थियो। दिउँसो १ बजेर ५५ मिनेटमा सडकमा दुवैतर्फी यातायात सञ्चालनमा आएको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न तीनवटै सवारीसाधन नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अमलेखगञ्जमा राखिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पालिका संचारकर्मी 






