१२ टोलीको प्रतिस्पर्धासहित मनहरीमा आजदेखि भिमान सहिद स्मृति कप

पालिका संचारकर्मी
१७ कार्तिक २०८३, सोमबार १०:२९

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–२ मा आजदेखि तेस्रो वडाध्यक्ष भिमान सहिद स्मृति कप फुटबल प्रतियोगिता २०८३ सुरु हुँदैछ। खेलकुद विकास समिति मनहरी–२ को आयोजनामा सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। आयोजकले प्रतियोगिताको खेल तालिकासमेत सार्वजनिक गरिसकेको छ।

मनहरी गाउँपालिका–२ वडा कार्यालयको मुख्य प्रायोजन तथा मनहरी गाउँपालिकाको सहप्रायोजनमा हुने प्रतियोगिता मनहरी–२ दोभानस्थित त्रिरत्न प्राथमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा विभिन्न स्थानका १२ वटा फुटबल टोलीले प्रतिस्पर्धा गर्नेछन्।

१० वर्षे महान् जनयुद्धका क्रममा भिमानमा सहादत प्राप्त गरेका सहिदहरूको सम्झना, सम्मान र योगदानलाई चिरस्थायी बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। वि.सं. २०८१ देखि वार्षिक रूपमा सञ्चालन हुँदै आएको प्रतियोगितालाई यस वर्ष थप विस्तार गर्दै मनहरी गाउँपालिकाबाहिरका क्लबलाई समेत सहभागी गराइएको खेलकुद विकास समिति मनहरी–२ का संयोजक चन्द्रसिंह स्याङ्तानले बताए।

प्रतियोगिताले सहिदहरूको त्याग र बलिदानको स्मरण गराउनुका साथै युवा पुस्तामा खेलकुदप्रतिको रुचि, अनुशासन, आपसी सद्भाव, एकता र भाइचाराको भावना विकास गर्ने अपेक्षा गरिएको छ। स्थानीय स्तरमा खेलकुदको विकास, प्रतिभावान् खेलाडीको पहिचान तथा सामाजिक एकता कायम गर्नसमेत प्रतियोगिताले सहयोग पुर्‍याउने आयोजकको विश्वास छ।

मनहरी गाउँपालिका–२ मा तामाङ समुदायको उल्लेख्य बसोबास रहेको उल्लेख गर्दै आयोजकले यस क्षेत्रको खेलकुद, कला, संस्कृति तथा पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसमेत लिएको जनाएको छ।

सार्वजनिक खेल तालिकाअनुसार पहिलो खेल कात्तिक १६ गते दिउँसो १२ बजे आरआरएफसी मनहरी–३ र बुद्ध एफसी हेटौँडा–१ बीच हुनेछ। सोही दिन दिउँसो ३ बजे दोस्रो खेलको विजेता र खेलकुद विकास समिति मनहरी–५ बीच प्रतिस्पर्धा हुनेछ।

त्यस्तै, कात्तिक १७ गते खैराङ एफसी मनहरी–२ र सिमलटार एफसी हेटौँडा–११ बीच तेस्रो खेल हुनेछ। सोही दिन तपोवन एफसी हेटौँडा–१९ र रियल स्टार एफसी हेटौँडा–१२ बीच सातौँ खेल हुनेछ।

कात्तिक १८ गते जनसिद्ध एफसी मनहरी–३ र चकरी एफसी अमलेखगञ्ज, बाराबीच पाँचौँ खेल हुनेछ। त्यसैगरी, तेस्रो खेलको विजेता र खेलकुद विकास समिति मनहरी–२ बीच चौथो तथा पाँचौँ खेलको विजेता र न्यू योङ जेनेरेशन मनहरी–१ बीच छैटौँ खेल हुनेछ।

कात्तिक २० गते सातौँ खेलको विजेता र सुनाचुरी एफसी मनहरी–६ बीच आठौँ खेल हुनेछ। प्रतियोगिताको सेमिफाइनल खेल कात्तिक २१ र २२ गते दिउँसो ३ बजे सञ्चालन हुनेछ। पहिलो सेमिफाइनलमा दोस्रो र चौथो खेलका विजेता तथा दोस्रो सेमिफाइनलमा छैटौँ र आठौँ खेलका विजेताबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताको विजेता टोलीले नगद एक लाख ११ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले पाँच हजार रुपैयाँ, विधागत उत्कृष्ट खेलाडीले जनही तीन हजार रुपैयाँ तथा प्रत्येक खेलको उत्कृष्ट खेलाडीले एक हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।

खेलकुद विकास समिति मनहरी–२ का संयोजक चन्द्रसिंह स्याङ्तानले प्रतियोगिता सफल बनाउन खेलाडी, खेलप्रेमी तथा सम्बन्धित सबैलाई सहयोग र सहभागिताका लागि आग्रह गरेका छन्।