चक्रवातको प्रभाव सकियो, किसानलाई धान काट्न मौसमविद्को सुझाव
मकवानपुर । अर्नब चक्रवातको प्रभाव सकिए पनि पश्चिमी वायुको हल्का प्रभाव भने अझै केही समय रहने मौसमविद् विनोद पोखरेलले बताएका छन्।
बंगालको खाडीमा अर्को मौसमी प्रणाली विकसित भए पनि त्यसको प्रभाव नेपालमा पर्ने सम्भावना न्यून रहेको उनले बताएका छन्।
धान काट्ने तयारीमा रहेका किसानले स्थानीय मौसमको अवस्था हेरेर कृषि कार्य अघि बढाउन सक्ने पोखरेलको भनाइ छ। आगामी दुईदेखि तीन दिनसम्म अपराह्नको समयमा पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहे पनि धान काट्ने काम रोक्नुपर्ने अवस्था नरहेको उनले स्पष्ट पारेका छन्।
उनले काटेको धान सुरक्षित राख्ने व्यवस्था गर्न किसानलाई सुझाव दिएका छन्।
तराई क्षेत्रमा भने वर्षाको सम्भावना खासै नरहेको मौसमविद् पोखरेलले बताएका छन्। किसानले आफ्नो क्षेत्रको मौसम अवस्था र पछिल्लो पूर्वानुमानलाई ध्यानमा राखेर धान काट्ने तथा भित्र्याउने कामको योजना बनाउन सक्ने उनको सुझाव छ।

पालिका संचारकर्मी 






