बाढी प्रभावित क्षेत्रमा राहत र उद्धार जारी राख्न बागमतीको सर्वदलीय बैठक

पालिका संचारकर्मी
१४ भाद्र २०८३, आईतवार १३:१९

हेटौंडा, १४ भदौ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको क्षति र आगामी उद्धार तथा पुनर्निर्माणका विषयमा बागमती प्रदेश सरकारले सर्वदलीय छलफल गरेको छ।

मुख्यमन्त्री किरण थापाको अध्यक्षतामा काठमाडौंमा बसेको बैठकले बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनर्निर्माणका कामलाई निरन्तरता दिने निर्णय गरेको हो।

बैठकमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्रीहरू राजेन्द्र पाण्डे, शालिकराम जम्कट्टेल र बहादुरसिंह लामा तथा विभिन्न राजनीतिक दलका संसदीय दलका नेताहरू सहभागी थिए। एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया भने ह्वाट्सएपमार्फत बैठकमा जोडिएका थिए।

बैठकले बाढीबाट बढी प्रभावित रसुवा, नुवाकोट, धादिङ र चितवनमा तत्काल आवास, राहत तथा उद्धारको व्यवस्था प्रभावकारी रूपमा अघि बढाउने निर्णय गरेको छ। प्रभावित नागरिकलाई आवश्यक सामग्री उपलब्ध गराउन प्रदेश सरकारलाई निरन्तर सक्रिय रहन सुझाव दिइएको छ।

बाढी र पहिरोका कारण अवरुद्ध सडक तथा पैदलमार्ग तत्काल सञ्चालनमा ल्याउने विषयमा पनि छलफल भएको छ। आवतजावत सहज बनाउन आवश्यक स्थानमा बेलिब्रिज, झोलुङ्गे पुल र तुइन निर्माणको प्रक्रिया अघि बढाउने निर्णय गरिएको छ।

बैठकले तत्कालीन राहतसँगै प्रभावित क्षेत्रको दीर्घकालीन पुनर्निर्माण र दिगो विकासका लागि योजना बनाउनुपर्नेमा समेत जोड दिएको छ।

बैठकमा भौतिक पूर्वाधारमन्त्री भरतबहादुर केसी, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री राजु विष्ट, राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता उद्धव थापा, नेकपाका प्रमुख सचेतक रत्न ढकाल र नेपाली कांग्रेसका प्रदेशसभा सदस्य रमेशकुमार महतलगायत सहभागी थिए।