भिमान सहिद स्मृति कप : बुद्ध एफसी र जनसिद्ध एफसी क्वार्टरफाइनलमा प्रवेश

पालिका संचारकर्मी
१७ कार्तिक २०८३, सोमबार २१:२८

हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका–२ मा सुरु भएको तेस्रो वडाध्यक्ष भिमान सहिद स्मृति कप फुटबल प्रतियोगिता २०८३ अन्तर्गत सम्पन्न दुई खेलबाट बुद्ध एफसी हेटौँडा–१ र जनसिद्ध एफसी मनहरी–३ क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

मनहरी गाउँपालिका–२ वडा कार्यालयको मुख्य प्रायोजन तथा मनहरी गाउँपालिकाको सहप्रायोजनमा सञ्चालित प्रतियोगिता मनहरी–२ दोभानस्थित त्रिरत्न प्राथमिक विद्यालयको खेलमैदानमा भइरहेको छ ।

प्रतियोगिताको पहिलो खेलमा बुद्ध एफसी हेटौँडा–१ ले आरआर एफसी मनहरी–३ लाई पेनाल्टी सुटआउटमा ३–० गोलअन्तरले पराजित गर्‍यो । निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । उक्त खेलमा बुद्ध एफसीका अस्मिर गोङ्बा म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै, दोस्रो खेलमा जनसिद्ध एफसी मनहरी–३ ले चकरी एफसी अमलेखगञ्ज, बारालाई १–० गोलअन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्‍यो । उक्त खेलमा जनसिद्धका सागर चौलागाईं म्यान अफ द म्याच घोषित भए ।

१० वर्षे जनयुद्धका क्रममा भिमानमा सहादत प्राप्त गरेका सहिदहरूको सम्झना, सम्मान र योगदानलाई चिरस्थायी बनाउने उद्देश्यले प्रतियोगिता २०८१ सालदेखि वार्षिक रूपमा आयोजना हुँदै आएको छ । यस वर्ष प्रतियोगितामा मनहरी गाउँपालिकाबाहिरका क्लबलाई समेत सहभागी गराइएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेता टोलीले नगद १ लाख ११ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।

त्यसैगरी, सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँ, विधागत उत्कृष्ट खेलाडीलाई जनही ३ हजार रुपैयाँ र प्रत्येक खेलका म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।