बागमतीमा चैत मसान्तपछि सरकारको नेतृत्व एमालेकै हुने स्पष्ट अडान
हेटौंडा — बागमती प्रदेशमा सत्ता साझेदार दलहरूबीच भएको आलोपालो नेतृत्वको सहमति कार्यान्वयन गर्ने विषयले पुनः गति लिएको छ। नेकपा एमालेले चैत मसान्तपछि सरकारको नेतृत्व आफ्नो भागमा पर्ने स्पष्ट अडान सार्वजनिक गर्दै सहमति कार्यान्वयनका लागि दबाब बढाएको हो।
एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले हाल इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार परिवर्तन गरी सहमति अनुसार एमालेले नेतृत्व सम्हाल्नुपर्ने बताएका छन्। सत्ता साझेदारबीच आधा–आधा कार्यकाल नेतृत्व गर्ने समझदारी भएकाले अबको पालो एमालेकै भएको उनको दाबी छ।
यसैबीच, एमालेले प्रदेश सभा बैठक तत्काल बोलाउन पनि माग गरेको छ। लामो समयसम्म बैठक नबस्दा जनताका मुद्दा ओझेलमा परेको भन्दै पूर्वाधार अभावको कारण देखाएर बैठक स्थगित गर्नु उचित नभएको थपलियाको भनाइ छ।
उनले मुख्यमन्त्रीले संघीय सरकार गठन प्रक्रियाको प्रतीक्षा गर्दा प्रदेश सभा बैठक ढिला भएको आरोपसमेत लगाए। सभामुख चयनमा भने सत्ता साझेदारबीच कुनै विवाद नरहेको उनले स्पष्ट पारे।
एमालेका अनुसार चैत अन्त्य वा वैशाख सुरुवाततिर प्रदेश सभा बैठक बस्ने र त्यसपछि नयाँ राजनीतिक प्रक्रिया अघि बढ्ने सम्भावना रहेको छ।


पालिका संचारकर्मी 







