कुवेतमा रहेका नेपालीलाई दूतावासको सुझाव: साउदी हुँदै नेपाल फर्किन सकिने
कुवेतमा रहेका नेपाली नागरिकलाई सुरक्षित रूपमा स्वदेश फर्किन वैकल्पिक यात्रा मार्ग अपनाउन कुवेतस्थित नेपाली दूतावासले आग्रह गरेको छ।
सोमबार जारी गरिएको विज्ञप्तिमा दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै साउदी अरेबिया हुँदै नेपाल फर्किन सकिने जानकारी दिएको हो।
दूतावासका अनुसार इच्छुक नेपालीले अनलाइन प्रणालीमार्फत साउदी अरेबियाको भिसाका लागि आवेदन दिन सक्नेछन्। आवश्यक भिसा प्राप्त भएपछि कुवेतबाट सडकमार्ग प्रयोग गरी साउदी अरेबिया प्रवेश गर्न सकिनेछ।
त्यसपछि साउदी अरेबियाका अन्तर्राष्ट्रिय विमानस्थलहरूबाट नेपालका लागि उडान लिन सकिने दूतावासले जनाएको छ।
यस प्रक्रियाबाट यात्रा गर्दा सुरक्षित र व्यवस्थित रूपमा स्वदेश फर्किन सहज हुने विश्वास दूतावासले व्यक्त गरेको छ। साथै स्वदेश फर्किन चाहने नेपाली नागरिकलाई समयमै अनलाइनमार्फत भिसा आवेदन दिन दूतावासले अनुरोध गरेको छ।

पालिका संचारकर्मी 







