हेटौँडा–४ का सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा, वडाध्यक्ष सिग्देलले पालकलाई विश्वास गर्न आग्रह

पालिका संचारकर्मी
२६ पुष २०८२, शनिबार १९:३२

हेटौँडा–४ मा रहेका सामुदायिक विद्यालयहरूले गुणस्तरीय शिक्षा प्रदान गरिरहेका छन् भनी वडा अध्यक्ष सिग्देलले पालकहरूलाई आफ्ना बालबालिकालाई ढुक्क भएर सामुदायिक विद्यालयमै पढाउन आग्रह गर्नुभएको छ। कर्रा टोल विकास संस्थाको ८औँ साधारणसभाको उद्घाटन गर्दै उहाँले विद्यालयमा बाल विकास केन्द्रदेखि कक्षा १२ सम्म सुविधा सम्पन्न शिक्षा उपलब्ध गराउन विद्यालय प्रशासन, व्यवस्थापन समिति र जनप्रतिनिधिहरू निरन्तर लागिपरेको बताउनुभयो।

साथै, वडाले विद्यालयहरूको भौतिक पूर्वाधार, स्तरीय बाल विकास केन्द्र, दक्ष र अनुभवी शिक्षक, विभिन्न प्रयोगात्मक क्रियाकलाप र तालिम, शिक्षक–विद्यार्थी सम्मान तथा पुरस्कारलगायतका व्यवस्थाहरूलाई प्राथमिकता दिएको जानकारी उहाँले दिनुभयो। वडाध्यक्ष सिग्देलले संस्थागत र सामुदायिक विद्यालयबीचको सहकार्य र स्वस्थ प्रतिस्पर्धाबाट गुणस्तर अझै सुधार्ने लक्ष्य रहेको पनि उल्लेख गर्नुभयो।

वडामा भुटनदेवी मावि, आधुनिक मावि र श्रमिक मावि जस्ता सामुदायिक विद्यालयहरू पर्दछन्।

साधारणसभामा वडाध्यक्ष सिग्देलले आगामी २०८४ सालसम्म वडाका सबै मुख्य तथा भित्री सडकहरू कच्ची सडक र खाल्डाखुल्डीमुक्त बनाउने योजना रहेको जानकारी दिनुभयो। उहाँको कार्यकालमा मुख्य सडकको ८० प्रतिशत र भित्री सडकको ९० प्रतिशत स्तरीकरण भइसकेको दाबी पनि गर्नुभयो।

साधारणसभाले अजिव भट्टराईको अध्यक्षतामा र अर्जुन पोखरेलको सचिवतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको निर्वाचन समितिका संयोजक केशव अर्यालले जानकारी दिनुभयो। प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित गर्दै साधारणसभा संस्थाका अध्यक्ष चन्द्राकान्त श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ।