बाढीबाट प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउन तयार
इलोन मस्कको भू–उपग्रहमा आधारित इन्टरनेट कम्पनी स्टारलिंकले नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउन तयार रहेको जनाएको छ।
कम्पनीले शनिबार सामाजिक सञ्जाल एक्समार्फत नेपाल सरकार र मानवीय सहायतामा खटिएका निकायलाई सहयोग गर्न तयार रहेको जनाएको हो। आवश्यक अनुमति प्राप्त हुनासाथ स्टारलिंकका उपकरण प्रभावित क्षेत्रमा पठाएर निःशुल्क सेवा उपलब्ध गराउने कम्पनीले स्पष्ट पारेको छ।
बाढीपहिरोका कारण सडक, पुल तथा मोबाइल नेटवर्कमा क्षति पुगेका क्षेत्रमा स्टारलिंकको सेवा उद्धार तथा राहतका लागि उपयोगी हुने अपेक्षा गरिएको छ। यसबाट बेपत्ताको खोजीमा खटिएका उद्धार टोली, स्वास्थ्यकर्मी तथा मेडिकल टोलीलाई सञ्चार समन्वयमा सहयोग पुग्ने कम्पनीको भनाइ छ।
त्यस्तै, सम्पर्कविहीन आफन्त तथा परिवारसँग जोडिन प्रयास गरिरहेका नागरिकलाई समेत सेवा उपयोगी हुने स्टारलिंकले जनाएको छ।
कम्पनीका अनुसार स्टारलिंकका उपकरण केही मिनेटमै जडान गरेर इन्टरनेट सञ्चालन गर्न सकिन्छ। यसका लागि विद्युत् आपूर्ति र उपकरणले सिधै देख्ने गरी खुला आकाश आवश्यक हुन्छ।

पालिका संचारकर्मी 





