हेटौंडामा आगलागी: पाँच लाख रुपैयाँ बराबरको क्षति

पालिका संचारकर्मी
२६ माघ २०८२, आईतवार १८:१५

मकवानपुर — हेटौंडा उपमहानगरपालिका–१८ एक्लेखेतमा शनिबार राति भएको आगलागीबाट एक गोठ पूर्णरूपमा जलेर नष्ट हुँदा करिब पाँच लाख रुपैयाँ बराबरको क्षति भएको छ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार स्थानीय नारायण चुहानको घरसँगै जोडिएको काठको गोठमा बिजुलीको तार सर्ट भई आगलागी भएको हो। राति आगो फैलिएपछि स्थानीयवासीले तत्काल प्रहरी र दमकललाई खबर गरेका थिए।

हेटौंडा उपमहानगरपालिकाको दमकल तथा स्थानीय बासिन्दाको संयुक्त प्रयासमा राति करिब ७ बजेर ४५ मिनेटमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

आगलागीका कारण गोठसहित भित्र रहेका काठपात तथा अन्य जिन्सी सामग्री जलेर नष्ट भए पनि मानवीय तथा चौपायामा भने कुनै क्षति नभएको प्रहरीले जानकारी दिएको छ। घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।