पालुङदेखि काठमाडौंको जोरपाटीसम्म ‘थाहानगर यातायात’ सञ्चालन हुँदै, भाडादर सार्वजनिक

पालिका संचारकर्मी
१९ कार्तिक २०८३, बुधबार ११:३१

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकाबाट काठमाडौंसम्म नियमित यातायात सेवा सञ्चालन हुने भएको छ। थाहा नगरका नागरिकलाई काठमाडौंसँग जोड्दै सहज, सुरक्षित र भरपर्दो यातायात सुविधा उपलब्ध गराउने उद्देश्यले ‘थाहानगर यातायात’ सञ्चालनको तयारी गरिएको हो।

कम्पनीले पालुङदेखि चित्लाङ, थानकोट र कलंकी हुँदै काठमाडौंको जोरपाटीसम्म यात्रु सेवा सञ्चालन गर्ने जनाएको छ। यसका लागि थाहा नगरपालिका–४, थानाबजारमा चार्जिङ स्टेसन र काठमाडौंको कलंकीमा टिकट काउन्टर स्थापना गरिएको छ।

निर्धारित तालिकाअनुसार बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म पालुङ र काठमाडौं दुवैतर्फबाट प्रत्येक दुई घण्टाको अन्तरालमा सवारी छुट्नेछन्। यसबाट थाहा नगर र काठमाडौंबीच नियमित आवागमन गर्ने यात्रुलाई सहज हुने अपेक्षा गरिएको छ।

काठमाडौं–पालुङ रुटमा मात्रै सीमित नरही नगरभित्रका विभिन्न स्थानमा समेत सेवा विस्तार गरिने कम्पनीले जनाएको छ। पालुङ, अङ्गारे, फाँटबजार, घर्ती र शिखरकोट लगायतका क्षेत्रमा यातायात सेवा उपलब्ध गराइनेछ। यात्रुको मागअनुसार नगरका अन्य क्षेत्रमा पनि सेवा विस्तार गर्ने योजना रहेको छ।

यस्तो छ नयाँ यातायात सेवाको भाडादर

कम्पनीले काठमाडौं र थाहा नगरका विभिन्न गन्तव्यबीचको भाडादरसमेत सार्वजनिक गरेको छ।

गन्तव्य भाडादर
काठमाडौं–चित्लाङ रु. २००
काठमाडौं–बिसिङ्खेल/नौखण्डे रु. २५०
काठमाडौं–बज्रबाराही रु. २५०
काठमाडौं–कुन्छाल भञ्ज्याङ रु. ३००
काठमाडौं–पालुङ रु. ३५०
काठमाडौं–डाँडाबास रु. ४७५

नगरभित्रका गन्तव्यतर्फ चित्लाङदेखि बिसिङ्खेल/नौखण्डेसम्म ५० रुपैयाँ, बज्रबाराहीसम्म १०० रुपैयाँ, कुन्छाल भञ्ज्याङसम्म १५० रुपैयाँ र पालुङसम्म २०० रुपैयाँ भाडा निर्धारण गरिएको छ।

त्यस्तै, पालुङदेखि बज्रबाराहीसम्म १०० रुपैयाँ, कुन्छाल भञ्ज्याङसम्म ५० रुपैयाँ, नौखण्डे/बिसिङ्खेलसम्म १५० रुपैयाँ र चित्लाङसम्म २०० रुपैयाँ भाडा लाग्नेछ।

१० पटक यात्रा गरे ११औँ पटक निःशुल्क

यात्रुलाई प्रोत्साहन गर्न कम्पनीले विशेष छुट योजनासमेत ल्याएको छ। योजनाअनुसार १० पटक टिकट काटेर यात्रा गर्ने यात्रुले ११औँ पटक निःशुल्क यात्रा गर्न पाउनेछन्। यसका लागि यात्रुले अघिल्ला यात्राका टिकट सुरक्षित राख्नुपर्नेछ।

टिकट बुकिङ तथा सेवासम्बन्धी जानकारीका लागि पालुङको थानाबजार र काठमाडौंको कलंकीमा टिकट काउन्टरको व्यवस्था गरिएको छ। यात्रुले फोनमार्फत पनि टिकट बुकिङ गर्न सक्नेछन्।

सम्पर्क तथा टिकट बुकिङ नम्बर :

  • काठमाडौं, कलंकी : ९७१५२०२०१५

  • पालुङ, थानाबजार : ९७१५३०३०१५

थाहानगर यातायात सेवा सञ्चालनमा आएपछि स्थानीय नागरिकको काठमाडौं आवागमन सहज हुनुका साथै चित्लाङ, दामन र पालुङलगायत पर्यटकीय क्षेत्रको भ्रमणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसले थाहा नगर र काठमाडौंबीचको यातायात सम्पर्कलाई थप व्यवस्थित बनाउने विश्वास गरिएको छ।