हेटौंडामा दोस्रो बृह्त खेलकुद, कृषि, पर्यटन तथा व्यापार महोत्सव माघ २८ गतेदेखि सुरु हुने
हेटौंडामा खेलकुद, कृषि, पर्यटन र व्यापारलाई एउटै मञ्चमा जोड्ने उद्देश्यसहित दोस्रो बृह्त खेलकुद, कृषि, पर्यटन तथा व्यापार महोत्सव आयोजना हुने भएको छ। मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा माघ २८ गतेदेखि सुरु हुने महोत्सव फागुन १२ गतेसम्म हेटौंडा–१० स्थित टिसीएन चौरमा सञ्चालन हुनेछ।
शुक्रबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष राजकुमार मोक्तानले खेलाडीलाई खेल जीवनमै सुरक्षित र आत्मनिर्भर बनाउने लक्ष्यसहित महोत्सव आयोजना गर्न लागिएको बताए। उनले खेलकुद क्षेत्रबाट प्रतिभाको विदेश पलायन रोक्नुका साथै पर्यटन र स्थानीय व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्य रहेको स्पष्ट पारे।
महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गर्ने कार्यक्रम तय भएको छ भने समापन समारोह हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीना कुमारी लामाले गर्नेछिन्।
महोत्सव अवधिभर राष्ट्रिय महिला भलिबल, जिल्लास्तरीय पुरुष भलिबल, ब्याडमिन्टन, कराँते प्रतियोगिता तथा २२ किलोमिटर लामो दौड प्रतियोगिता सञ्चालन गरिनेछ। साथै उत्कृष्ट १० जना खेलाडीलाई जनही २५ हजार रुपैयाँ नगदसहित सम्मान गरिने समितिले जनाएको छ।
राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजेता टोलीले ४ लाख र उपविजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् भने दुई सान्त्वना टोलीलाई जनही ५० हजार रुपैयाँ प्रदान गरिनेछ। पुरुष भलिबलतर्फ विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। कराँते र २२ किलोमिटर दौड प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
हेटौंडा बजार क्षेत्रमा सडक विस्तारका क्रममा विस्थापित भएका व्यवसायीलाई प्राथमिकता दिँदै महोत्सवमा करिब ४ सय व्यवसायिक स्टल राखिने जनाइएको छ। प्रत्येक स्टलका लागि २५ हजार रुपैयाँ शुल्क तोकिएको छ भने दर्शकका लागि प्रवेश शुल्क १ सय रुपैयाँ निर्धारण गरिएको छ।
जेनजी आन्दोलनका क्रममा क्षति पुगेको जिल्ला खेलकुद विकास समितिको भवन पुनर्निर्माण तथा नष्ट खेल सामग्री खरिदका लागि महोत्सवबाट संकलित आम्दानी खर्च गरिनेछ। महोत्सव सम्पन्न गर्न करिब ८० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

पालिका संचारकर्मी 






