आज माघे सङ्क्रान्ति पर्व मनाइँदै, देशभर सार्वजनिक विदा
हेटौँडा । आज माघे सङ्क्रान्ति पर्व देशभर श्रद्धा, भक्ति र हर्षोल्लासका साथ मनाइँदैछ । प्रत्येक वर्ष माघ १ गते मनाइने यो पर्व सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिनका रूपमा चिनिन्छ । माघे सङ्क्रान्तिलाई विशेषगरी थारु समुदायले ‘माघी’ पर्वका रूपमा मनाउने गर्दछन् । यस दिनलाई नयाँ वर्षको सुरुवात मान्दै थारु समुदायमा परिवार र समाजका महत्वपूर्ण निर्णय गरिने परम्परा छ । परिवारका अगुवा चयन गर्ने, खेतीपाती तथा सामाजिक कार्यको योजना बनाउने चलन पनि रहेको छ । यस अवसरमा देशका विभिन्न नदी, कुण्ड र तीर्थस्थलमा स्नान गर्ने, देवदेवीको पूजा–आराधना गर्ने तथा दान–पुण्य गर्ने परम्परा रहेको छ । काठमाडौँको शालिनदी, देवघाट, कालीगण्डकी, कोशी, बागमतीलगायत स्थानमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । माघे सङ्क्रान्तीमा तिल, चाकु, घिउ, तरुल, सखरखण्ड, फापरको ढिँडो, खिचडीजस्ता परिकार खाने चलन छ । यी परिकारले जाडो मौसममा शरीरलाई ऊर्जा र तातोपन प्रदान गर्ने विश्वास गरिन्छ ।

पालिका संचारकर्मी 






