विद्याकी देवी सरस्वतीको पूजा गर्दै देशभर श्रद्धापूर्वक श्रीपञ्चमी मनाइँदै

पालिका संचारकर्मी
१० माघ २०८२, शुक्रबार ०७:२९

विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा–आराधना गर्दै आज देशभर श्रीपञ्चमी पर्व श्रद्धा र भक्तिभावका साथ मनाइँदैछ। प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वलाई वसन्त पञ्चमी पनि भनिन्छ।

आजका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि र विवेक बढ्ने धार्मिक विश्वास छ। यही विश्वासका कारण देशभरका सरस्वती मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ। विशेषगरी विद्यार्थी, शिक्षक, साहित्यकार, कलाकार र पत्रकारले आफ्ना अध्ययन तथा सृजनाका सामग्री कलम, कापी, पुस्तक, वाद्ययन्त्र आदिलाई देवी सरस्वतीका रूपमा पूजा गर्ने परम्परा छ।

श्रीपञ्चमीका अवसरमा विद्यालय नपठाइएका साना बालबालिकालाई अक्षरारम्भ गराउने चलन पनि रहिआएको छ। आजका दिन लेखपढ सिकाए राम्रो विद्या प्राप्त हुने जनविश्वास रहेको छ। यसैगरी बालबालिकाको नाक र कान छेड्ने परम्परा पनि आजकै दिन गरिन्छ।

चन्द्रमाजस्तै गोरो वर्ण, हातमा वीणा र पुस्तक धारण गरेकी देवी सरस्वतीलाई भारती, शारदा, हंसवाहिनी, वागीश्वरी, वरदायिनी र बुद्धिदात्रीजस्ता विभिन्न नामले पुकार्ने गरिन्छ। तान्त्रिक परम्परामा भने सरस्वतीलाई तारादेवीका रूपमा आराधना गरिन्छ।

सूर्य उत्तरायणतर्फ लाग्दै दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका कारण यस दिनलाई वसन्त पञ्चमी भनिएको हो। धार्मिक ग्रन्थहरूमा आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरे सर्वसिद्धि प्राप्त हुने उल्लेख गरिएको छ।

आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाहजस्ता कार्य गर्न साइत हेर्न नपर्ने विश्वास भए पनि यस वर्ष शुक्र अस्त भएकाले यस्ता शुभकर्म नगरिने जनाइएको छ।

उपत्यकाका स्वयम्भू, मैतीदेवी, गैरीधारास्थित नीलसरस्वती तथा ललितपुरको लेलेलगायत देशभरका सरस्वती मन्दिरमा विशेष पूजा भइरहेको छ। सरस्वतीलाई चढाइएको सात गेडा अक्षता दाँतले नछोई निलेमा विद्या र बुद्धि प्राप्त हुने विश्वास पनि रहेको छ।

यसै अवसरमा हनुमानढोका दरबारको नासल चोकमा वसन्त श्रवण गर्ने परम्परा अनुसार आज बिहान १०ः२७ बजेको शुभसाइतमा राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त श्रवण गर्ने कार्यक्रम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री तथा उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहनेछ।