हेटौँडामा दुईदिने घरेलु उत्पादन प्रदर्शनी तथा सांस्कृतिक मेला हुँदै

पालिका संचारकर्मी
१२ माघ २०८२, आईतवार ०९:२४

मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० को आयोजनामा तेस्रो घरेलु उत्पादन प्रवर्द्धन प्रदर्शनी, नृत्य प्रतियोगिता तथा शैक्षिक प्रदर्शनी मेला यही माघ १६ र १७ गते आयोजना हुने भएको छ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले हेटौँडा–१० स्थित बसपार्क क्षेत्रमा मेला सञ्चालन गरिने जानकारी दिएका हुन्। प्रदर्शनीमा हेटौँडा उपमहानगरपालिकाका १९ वटै वडामा उत्पादन भएका स्थानीय घरेलु वस्तुहरूको प्रदर्शनी तथा बिक्री गरिनेछ।

वडाध्यक्ष फुर्वा दोर्जे लामाका अनुसार स्थानीय उत्पादनको प्रवर्द्धन, बजारीकरण तथा रोजगारी सिर्जनामा टेवा पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो। मेलामा १९ वटै वडाका किसान तथा व्यवसायीहरूले उत्पादन गरेका सामग्रीहरू समेटिनेछन्।

प्रदर्शनीका लागि एक सय वटा स्टल व्यवस्था गरिएको छ। स्टल निःशुल्क उपलब्ध गराइने र सहभागी उत्पादक तथा व्यवसायीका लागि यातायात सुविधासमेत प्रदान गरिने आयोजकले जनाएको छ। उत्कृष्ट प्रदर्शनी गर्ने सहभागीलाई पुरस्कारको व्यवस्था पनि गरिएको छ।

मेलासँगै मौलिक सांस्कृतिक नृत्य प्रतियोगिता पनि आयोजना गरिनेछ, जसमा १९ वटै वडाको सहभागिता रहनेछ। प्रतियोगितामा प्रथम हुनेले ५० हजार, द्वितीयले ३५ हजार र तृतीयले २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै, चार जनालाई जनही ५ हजार रुपैयाँ सान्त्वना पुरस्कार प्रदान गरिनेछ।

प्रदर्शनी अवधिमा मौलिक खानाका परिकारका स्टलहरू, ज्येष्ठ नागरिक सम्मान, वडा भित्रका संस्थागत तथा सामुदायिक विद्यालयबाट एसईई तथा उच्च माध्यमिक तहमा उत्कृष्ट जीपीए ल्याउने विद्यार्थी सम्मान, राष्ट्रिय खेलाडी, अटो मेकानिक मिस्त्री, उद्यमी तथा कृषक सम्मानलगायत विभिन्न सम्मान कार्यक्रमसमेत समावेश गरिने वडाध्यक्ष लामाले जानकारी दिए।

कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न ६ वटा उपसमिति गठन गरिएको पनि आयोजकले जनाएको छ।