सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्ने सरकारको तयारी

पालिका संचारकर्मी
२० कार्तिक २०८३, बिहीबार १३:२७

सरकारले सातवटै प्रदेशमा जलन उपचार सेवालाई थप प्रभावकारी बनाउन दक्ष जनशक्ति उत्पादन तथा उपचार सेवा विस्तारको काम अघि बढाएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सातै प्रदेशका प्रमुख अस्पतालमा जलनको मापदण्डअनुसार ‘लेभल–३’ उपचार सेवा विस्तार गर्ने तयारी गरेको स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए।

यसका लागि सम्बन्धित अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई एड्भान्स बर्न केयर तालिम प्रदान गर्न थालिएको उनले बताए। पहिलो चरणमा मधेस प्रदेशको नारायणी अस्पताल वीरगञ्ज र कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ३० दिने तालिम सञ्चालन गरिएको छ।

तालिममा दुवै अस्पतालका गरी आठ जना चिकित्सक तथा स्वास्थ्यकर्मी सहभागी भएका थिए। यसअघि उनीहरूलाई छदिने प्राथमिक जलन उपचार तालिमसमेत प्रदान गरिएको थियो।

सरकारले कोशी प्रदेशको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेस प्रदेशको नारायणी अस्पताल, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशको भेरी अस्पताल, कर्णाली प्रदेशको सुर्खेत अस्पताल र सुदूरपश्चिम प्रदेशको सेती अस्पतालमा लेभल–३ जलन उपचार सेवा विस्तार गर्ने योजना बनाएको छ।

हाल ती अस्पतालमा सामान्य जलन उपचार सेवा उपलब्ध हुँदै आएको छ। तालिम प्राप्त जनशक्तिमार्फत सम्बन्धित अस्पतालमा जलन वार्ड स्थापना गरी गुणस्तरीय उपचार सेवा प्रदान गर्ने लक्ष्य रहेको डा. पौडेलले बताए।

मन्त्रालयको पहलमा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले कीर्तिपुर अस्पतालमा उक्त तालिम सञ्चालन गरेको हो। तिहारपछि क्रमशः अन्य प्रदेशका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई पनि जलन उपचारसम्बन्धी तालिम दिइने उनले जानकारी दिए।