हेटौंडा–१६ का दाजुभाइ: अपाङ्गता र विपत्तिका बाबजुद मानवताको उदाहरण
हेटौंडा उपमहानगरपालिका–१६ साजबोटेका दाजुभाइ विश्व लो तामाङ र सुकराम लो तामाङको जीवन संघर्ष अत्यन्तै कठिन छ। पुषको कठ्याङ्ग्रिने चिसोमा दाउराले बनेको एक कोठे घर, पुरानो म्याट, दुई भाँडा र केही सामान्य लत्ताकपडा मात्रका साथ उनीहरू दिन काटिरहेका छन्।
काम गर्न सक्ने अवस्थामा रहेका दाजु विश्व लो तामाङ एक वर्षअघि पूर्ण अशक्त भएपछि सुकराम लो तामाङले आफ्नो बौद्धिक अपाङ्गता र दृष्टि–श्रवण समस्याका बाबजुद पनि दाजुको स्याहार गर्दै आएका छन्। उनीहरूले बिहान–साँझ छिमेकीबाट प्राप्त खानेकुरामै गुजारा चलाइरहेका छन्।
स्थानीयहरूका अनुसार, सुकरामको बोली अस्पष्ट र आँखा गुमेको भए पनि उनले कहिल्यै दाजुप्रतिको जिम्मेवारीबाट पछि हटेका छैनन्। विपत्ति र अपाङ्गताबीच पनि उनीहरूको सहिष्णुता र मानवताको उदाहरण स्थानीय समाजका लागि प्रेरणादायी बनेको छ।

पालिका संचारकर्मी 






