भीमफेदीमा महिला स्वास्थ्य स्वयंसेविकाका लागि सामाजिक सुरक्षा अभिमुखीकरण कार्यक्रम
भीमफेदी गाउँपालिकाले “प्राकृतिक स्रोत, कृषि, पर्यटन र पूर्वाधार: सुखी र समृद्ध भीमफेदीको आधार” भन्ने मूल नाराका साथ महिला स्वास्थ्य स्वयंसेविकालाई लक्षित गर्दै सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण तथा आबद्धता कार्यक्रम सञ्चालन गरेको छ।
कार्यक्रममा अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिहरूका लागि लागू गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनाबारे विस्तृत छलफल भएको थियो। महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सामाजिक सुरक्षा कोषमा कसरी आबद्ध गराउने र समुदायमा उनीहरूले निर्वाह गर्न सक्ने भूमिकाबारे विशेष अन्तरक्रिया गरिएको थियो।
गाउँपालिका अध्यक्ष हिदम लामाले दुई वर्षदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा २०० जना व्यक्तिहरू नियमित रूपमा योगदान गरिरहेको जानकारी दिएका छन्। उनले पनि पेन्सनमैत्री गाउँपालिका बनाउने र बेरोजगारी तथा सामाजिक सुरक्षा सुनिश्चित गर्ने लक्ष्यका साथ योजना अघि बढाइएको बताए।
कार्यक्रममा उपाध्यक्ष सञ्जीव श्रेष्ठ, श्रम, रोजगार तथा यातायात मन्त्रालयकी महाशाखा प्रमुख सुनिता गजुरेल, प्रमुख प्रशासकीय अधिकृत चेतनाथ न्यौपाने, योजना अधिकृत बद्री सापकोटा लगायत उपस्थित थिए। कार्यक्रममा भीमफेदीका नौवटै वडाका महिला स्वास्थ्य स्वयंसेविकाहरूले पनि उल्लेखनीय सहभागिता जनाएका थिए।
सरोकारवालाहरूले सामाजिक सुरक्षा कोषमार्फत श्रमिक र स्वरोजगार वर्गलाई सुरक्षित भविष्यतर्फ डोर्याउने यो पहलले भीमफेदीलाई समृद्ध, सुरक्षित र सामाजिक न्यायमा आधारित गाउँपालिका बनाउने दिशामा महत्वपूर्ण कदम रहेको बताए।

पालिका संचारकर्मी 






