भीमफेदी–कुलेखानी सडकमा सुमो दुर्घटना : ६ जनाको मृत्यु, ३ घाइते

पालिका संचारकर्मी
२१ पुष २०८२, सोमबार ०८:४४

मकवानपुरको भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा आइतबार साँझ ५:२० बजे सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। काठमाडौँबाट हेटौंडातर्फ आउँदै गरेको ना.१ ज १७७८ नम्बरको सुमो सडकबाट करिब १०० मिटर तल खोल्सामा खस्दा दुर्घटना भएको थियो।

मृतकहरूमा भारत बिहार राज्य पटना बस्ने ४२ वर्षीय रजनीस कुमार, मकवानपुर हेटौंडा उपमहानगरपालिका–४ कमलडाँडा बस्ने ४० वर्षीया सबिता लम्साल, हेटौंडा उपमहानगरपालिका–२ कान्तिराजपथ बस्ने २९ वर्षीय निखिल अग्रवाल, भारत बिहार राज्य बेगुसराई बस्ने ४९/५० वर्षीय अरबिन्द कुमार र हालसम्म पहिचान नखुलेका दुई पुरुष (३६ र ४० वर्ष) रहेका छन्।

घाइतेमध्ये सुमो चालक गणेश थापा र १२ वर्षीय अभ्यास लम्सालको अवस्था गम्भीर रहेकाले चितवनको पुरानो मेडिकल कलेजमा रिफर गरिएको छ। अन्य २१ वर्षीया रिचा चौधरीको अवस्था मध्यम रहेको छ।

दुर्घटनाको खबर पाएपछि इलाका प्रहरी कार्यालय भीमफेदीबाट १० जनाको टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले र स्थानीयको सहयोगमा सुमोमा सवार ९ जनाको उद्धार गरी हेटौंडा अस्पताल पठाएको थियो।

दुर्घटनास्थलमा जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी र जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुवास चन्द्र बोहराको नेतृत्वमा थप टोली परिचालित गरिएको थियो।