ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु
भक्तपुर । मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीमा आज ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् गम्भीर घाइते भएका छन् ।
लोकन्थली चोकको सडकमा काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको ना. ७ ख. ९२६६ नं.को डिजेल बोकेको ट्याङकरले भक्तपुरतर्फ नै जाँदै गरेको बा. २३ प. ९२३४ नं.को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार ३२ वर्षीया स्वस्तिका ऐर बडालको घटनास्थलमा नै मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक दार्चुलाको नौगाड गाउँपालिका–१ घर भई हाल काठमाडौँको कीर्तिपुर बस्दै आएका ३४ वर्षीय करणसिंह बडाल गम्भीर घाइते हुनु भएको छ ।
उहाँको कौशलटारस्थित भक्तपुर इन्टरनेसनल अस्पतालमा उपचार भइरहेको प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक नमराज ढुङ्गानाले जानकारी दिनु भयो ।
प्रहरीले ट्याङकरका चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१, अम्लेखगञ्जका २५ वर्षीय प्रशान्त बललाई नियन्त्रणमा लिएको प्रहरी वृत्त थिमिले जनाएको छ ।

पालिका संचारकर्मी 






