राप्ती–३ जितपुरमा शान्ति सामुदायिक वनको २२औँ साधारण सभा सम्पन्न
चितवनको राप्ती नगरपालिका–३ जितपुरस्थित शान्ति मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको २२औँ साधारण सभा शनिबार सम्पन्न भएको छ। वन समूहको भवनमा आयोजित सभामा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल प्रमुख अतिथिका रूपमा सहभागी थिए।
सभालाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी अर्यालले वन संरक्षणमा स्थानीय समुदायको भूमिका महत्वपूर्ण रहेको बताए। वन जोगाउन सामूहिक जिम्मेवारी आवश्यक रहेको उल्लेख गर्दै उनले महिला सहभागिताले संरक्षण अझ प्रभावकारी बनेको बताए।
कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत खगेन्द्रमली रेञ्ज पोष्टका रेञ्जर योगेश ढकालले वन संरक्षण, पर्यटकीय पूर्वाधार र सुरक्षा क्षेत्रमा कार्ययोजनाअनुसार सहयोग गरिरहेको जानकारी गराए। उनले सामुदायिक वनलाई आवश्यक प्राविधिक सहयोग उपलब्ध गराइने प्रतिबद्धता पनि व्यक्त गरे।
यता, विशिष्ट अतिथि तथा राप्ती–३ का वडाअध्यक्ष शिवकान्त वलीले मध्यवर्ती क्षेत्रमा वन्यजन्तुका कारण स्थानीयले समस्या भोग्नुपरेको गुनासो गरे। हात्ती र बँदेललगायत जनावरबाट हुने क्षति तथा राप्ती नदीमा दाहसंस्कारमा रोक लगाइएकाले नागरिकलाई कठिनाइ भएको उनले बताए।

पालिका संचारकर्मी 






