हेटौंडा उपमहानगरपालिकाका कर्रा खोलामा ३० हजार माछाका भुरा छोडियो
हेटौंडा उपमहानगरपालिका–५ स्थित कर्रा खोलामा विश्व मत्स्य दिवसको अवसरमा ३० हजार माछाका भुरा छोडिएको छ। कार्यक्रम प्राकृतिक जलाशय मत्स्य प्रवर्धन एवं संरक्षण केन्द्र, हेटौंडा र हेटौंडा उपमहानगरपालिकाको संयुक्त आयोजनामा सम्पन्न भएको हो।
केन्द्रका सूचना अधिकारी विक्रम स्याङ्तानले प्राकृतिक जलाशय र जलीय जीवनको संरक्षणका लागि गर्दी जातको माछाको भुरा छोडिएको जानकारी दिए। कार्यक्रममा मेयर मीना लामा, प्रमुख जिल्ला अधिकारी वशन्त अधिकारी, केन्द्रका प्रमुख सरोजकुमार यादवसहित नगरका विभिन्न वडाका वडाध्यक्षहरू उपस्थित थिए।
कार्यक्रममा मेयर लामाले मत्स्य प्रवर्धन र जलीय जीवन संरक्षणमा उपमहानगरपालिकाको प्रतिबद्धता व्यक्त गर्दै भनिन्, “माछा उत्पादन वृद्धि र जलस्रोत संरक्षणका लागि केन्द्रले गरेको सहयोग महत्वपूर्ण छ। यस्ता कार्यक्रमले स्थानीय स्रोत र जीविकोपार्जन दुवै क्षेत्रमा सकारात्मक प्रभाव पार्छ।” उनले आगामी दिनमा पनि मत्स्य उत्पादन वृद्धि, प्राकृतिक जलस्रोत संरक्षण र जीविकोपार्जनमा योगदान दिने कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिवद्धता जनाइन्।

पालिका संचारकर्मी 






