कान्तिलोकपथमा बस दुर्घटना, ४ जना घाइते

पालिका संचारकर्मी
१५ मंसिर २०८२, आईतवार १५:२३

हेटौंडा / मकवानपुरगढी गाउँपालिका–१ बागधारा स्थित कान्तिलोकपथ सडक खण्डमा आज बिहान ११:५० बजे बस दुर्घटना भएको छ। प्रहरीका अनुसार फापरबारी–बस्तिपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा ५ ख २९४ नम्बरको बसको ब्रेक फेल भएपछि अनियन्त्रित भई सडकको बायाँ किनारको नालामा कोल्टिएर दुर्घटना भएको हो।

दुर्घटनामा हाद नाम, थर तथा वतन नखुलेका १ महिला र ३ पुरुष गरी ४ जना मध्यम रूपमा घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ। उनीहरूलाई उपचारका लागि मकवानपुर सहकारी अस्पताल पठाइएको छ।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय ठिङगनबाट प्र.स.नि. विष्णु दयाल साहको कमाण्डमा ४ जना र अस्थायी प्रहरी चौकी जितपुरबाट प्र.ह. कुलबहादुर मगरको कमाण्डमा २ जना गरी ६ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

दुर्घटनाले सडक अबरुद्ध नभएको र बस घटनास्थलमै रहेको प्रहरीले जनाएको छ। बस चालक, मकवानपुर बकैया गाउँपालिका–१० अम्बासका ३१ वर्षीय गोकुल तिमल्सिनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।