हेटौंडामा गाईजात्रा पर्व मनाइँदै, बागमती प्रदेशभर सार्वजनिक बिदा
हेटौंडा। प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज हेटौंडामा बिभीन्न कार्यक्रम गरी मनाइँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी हेटौंडा बजारमा परिक्रमा गराउने तथा उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । यसैगरी गाईजात्रा पर्वको अवसरमा बागमती प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयकी सूचना अधिकारी रविता कार्कीले मन्त्रिपरिषद्को निर्णयअनुसार सूचना प्रदेश राजपत्रमा समेत प्रकाशित भइसकेको जानकारी दिइन्। गाईजात्रा पर्व विशेषगरी नेवार समुदायमा मनाइने प्रमुख सांस्कृतिक पर्व हो। काठमाडौं उपत्यकासहित नेवार समुदायको बाक्लो बसोबास रहेको ललितपुर, भक्तपुर, काभ्रे, धादिङ, मकवानपुर लगायतका जिल्लामा गाईजात्रा उल्लासपूर्वक मनाइन्छ। मृत आत्माको शान्तिको कामना गर्दै मनाइने यो पर्वमा गाई वा मानिसलाई गाईसरह सिँगारी नगर परिक्रमा गराइन्छ। नेवार समुदायको मौलिक संस्कृति झल्किने यो पर्व प्रदेशको सांस्कृतिक विविधता र समावेशीपनको परिचायक मानिन्छ। यही महत्त्वका कारण प्रदेश सरकारले यस वर्षदेखि गाईजात्रालाई सार्वजनिक बिदा सूचीमा राखेको हो। यसअघि गाईजात्राको दिन काठमाडौं उपत्यकाभित्र मात्र स्थानीय बिदा दिइने गरिए पनि अब बागमती प्रदेशअन्तर्गत सबै जिल्लामा समान रूपमा सार्वजनिक बिदा लागू हुनेछ।

पालिका संचारकर्मी 






