हेटौंडामा खेलकुद, कृषि तथा पर्यटन महोत्सवको तयारी तीव्र

पालिका संचारकर्मी
२७ फाल्गुन २०८२, बुधबार १०:१०

मकवानपुर-मकवानपुरको हेटौंडामा दोस्रो खेलकुद, कृषि तथा पर्यटन महोत्सव आयोजना हुने भएको छ। मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा फागुन २९ गतेदेखि हेटौंडा–१० स्थित टिसिएनको चौरमा महोत्सव सञ्चालन गर्न लागिएको हो।

जिल्लाको खेलकुद क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यसहित महोत्सवको तयारी तीव्र रूपमा अघि बढाइएको आयोजकले जनाएको छ। समितिका अध्यक्ष राजकुमार मोक्तानका अनुसार हाल महोत्सव स्थलको घेराबारा, स्टल निर्माण तथा खेलकुद प्रतियोगिताका स्थानहरूको मर्मत सम्भारको काम भइरहेको छ।

उनले जेन्जी आन्दोलनका क्रममा भएको भौतिक क्षतिको पुनःस्थापना, खेलकुद सामग्री खरिद तथा जिल्लाको खेलकुद विकासका लागि महोत्सव आयोजना गर्न लागिएको बताए। महोत्सवबाट बचत हुने रकम मकवानपुर जिल्ला खेलकुद विकास समितिको भवन निर्माण र खेल सामग्री खरिदमा खर्च गरिने जनाइएको छ।

आयोजकका अनुसार महोत्सव सञ्चालनका लागि करिब ८० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। महोत्सवमा करिब ४ सय व्यावसायिक स्टल रहनेछन्, जहाँ खेलकुद, व्यापार, कृषि र पर्यटन क्षेत्रलाई एउटै थलोमा प्रस्तुत गरिनेछ।

महोत्सवको अवसरमा राष्ट्रिय महिला भलिबल, राष्ट्रिय तेक्वान्दो, जिल्लास्तरीय पुरुष भलिबल, ब्याडमिन्टन र कराँते प्रतियोगिता आयोजना गरिनेछ। साथै १० किलोमिटर महिला तथा पुरुष दौड प्रतियोगिता पनि सञ्चालन गरिने कार्यक्रम छ।

यसका साथै विभिन्न जातजातिका सांस्कृतिक झाँकी प्रदर्शन र दैनिक रूपमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। महोत्सवको अवसरमा खेल क्षेत्रमा योगदान पुर्‍याएका १० जनालाई जनही २५ हजार रुपैयाँसहित सम्मान गर्ने तयारी समेत गरिएको छ।

यसअघि पनि समितिले आयोजना गरेको महोत्सवबाट बचत भएको रकम खेलाडीको हितका लागि कोषमा राखिएको थियो।