बागमती प्रदेशको राजनीति उल्टियो, रास्वपाले बनायो नयाँ समीकरण

पालिका संचारकर्मी
२५ फाल्गुन २०८२, सोमबार ०७:०३

मकवानपुर/ प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणामअनुसार बागमती प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अभूतपूर्व सफलता हासिल गरेको छ। प्रदेशका ३३ निर्वाचन क्षेत्रमा रास्वपाले ३१ सिटमा विजय हासिल गर्दै स्पष्ट वर्चस्व कायम गरेको छ।

नेपाली कांग्रेस र नेकपा भने प्रत्येकले मात्र एक–एक सिट जितेका छन्। अर्कोतर्फ, नेकपा एमाले बागमती प्रदेशमा पूर्ण रूपमा शून्यमा झरेको छ। अघिल्लो निर्वाचनमा उल्लेख्य उपस्थिति रहेको एमालेको यो परिणामले राजनीतिक वृत्तमा ठूलो धक्का पुगेको छ।

निर्वाचन आयोगका तथ्यांक अनुसार काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर, धादिङ, नुवाकोट, रामेछापलगायत जिल्लामा रास्वपाका उम्मेदवारहरूले परम्परागत दललाई पछाडि पार्दै फराकिलो मतान्तरका साथ जित हात पारेका छन्।

राजनीतिक विश्लेषकहरूले मतदाताले भ्रष्टाचार, सुशासन र नयाँ राजनीतिक विकल्पको आधारमा रास्वपालाई प्राथमिकता दिएको बताएका छन्। विशेष गरी युवापुस्ता र परम्परागत दलप्रति असन्तुष्ट मतदाताको समर्थन रास्वपाको पक्षमा देखिएको छ।

राजनीतिक दृष्टिले महत्वपूर्ण मानिने बागमती प्रदेशमा आएको यस परिणामले राजनीतिक शक्ति सन्तुलनमा ठूलो परिवर्तन भएको देखिन्छ। आगामी संघीय संसदमा पनि रास्वपाको प्रभाव अत्यधिक रहने अनुमान गरिएको छ।