मकवानपुर–१ मा डिनाको ९ बुँदे प्रतिबद्धता सार्वजनिक, विकास र सुशासन मुख्य एजेन्डा

पालिका संचारकर्मी
१३ फाल्गुन २०८२, बुधबार १०:१७

हेटौँडामा प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा चुनावी सरगर्मी बढेको छ। यही फागुन २१ गते हुने निर्वाचनका लागि महालक्ष्मी उपाध्याय डिनाले आफ्नो ९ बुँदे संकल्पपत्र सार्वजनिक गर्दै मतदातासमक्ष स्पष्ट विकास एजेन्डा प्रस्तुत गरेकी छन्।

नेपाली कांग्रेसको तर्फबाट मकवानपुर क्षेत्र नम्बर–१ की उम्मेदवार रहेकी डिनाले सुशासन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पर्यटन, सामाजिक सुरक्षा र विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेको बताइन्। निर्वाचित भए क्षेत्रको समग्र विकास र जनजीवन सुधारमा केन्द्रित भएर काम गर्ने उनको प्रतिबद्धता छ।

संकल्पपत्रमा संविधान, लोकतन्त्र, संघीयता र समावेशिताको संरक्षण गर्दै मानव अधिकार सुनिश्चित गर्ने उल्लेख गरिएको छ। ‘विद्युतीय सुशासन’मार्फत पारदर्शी र भ्रष्टाचारमुक्त सेवा प्रवाह गर्ने तथा ‘मेरो निर्वाचन क्षेत्र–मेरो प्रतिबद्धता’ अभियान सञ्चालन गरी शान्ति र स्थिरता प्रवर्द्धन गर्ने योजना अघि सारिएको छ।

पूर्वाधार विकासतर्फ रातोमाटे–राप्ती पुल–चौकीटोल वैकल्पिक मार्ग सञ्चालन, त्रिभुवन राजपथअन्तर्गत बुद्धचोकदेखि भैंसेसम्म १६ मिटर सडक विस्तार, बागमती–सिन्धुली सडक, निजगढ डम्बरपुर–चुच्चेखोला सडक तथा फास्ट ट्र्याक निर्माणमा सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। सबै पालिकामा विद्युत् र इन्टरनेट विस्तार, पुल निर्माण र सडक विस्तारबाट प्रभावितलाई क्षतिपूर्ति दिने योजना पनि समेटिएको छ।

शिक्षातर्फ सरकारी इन्जिनियरिङ कलेज, आइटी तथा जैविक विविधता अनुसन्धान केन्द्र स्थापना, सामुदायिक विद्यालयमा सौर्य ऊर्जा जडान, मातृभाषा शिक्षा र माध्यमिक तहमा गणित, विज्ञान तथा कम्प्युटर शिक्षक अनिवार्य गर्ने लक्ष्य राखिएको छ। बागमती विश्वविद्यालयमा प्राविधिक तथा व्यावसायिक विषय थप गर्ने प्रतिबद्धता पनि गरिएको छ।

स्वास्थ्य क्षेत्रमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने, प्रत्येक पालिकामा चिकित्सक र प्रयोगशालासहितको अस्पताल सञ्चालन, जेष्ठ नागरिकका लागि घरदैलोमै स्वास्थ्य परीक्षण र निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने योजना अघि सारिएको छ।

रोजगारी र उद्यमशीलतामा सीपमूलक तालिम केन्द्र, ‘युवा स्वरोजगार सूचना केन्द्र’ स्थापना, औद्योगिक क्षेत्र विस्तार तथा कृषि उत्पादन र जडिबुटी व्यवसायीकरणलाई प्राथमिकता दिइएको छ। पर्यटन प्रवर्द्धनका लागि धार्मिक तथा ऐतिहासिक स्थलको संरक्षण, संग्रहालय स्थापना, गढी संरक्षण र कृषि पर्यटन विकासको योजना समेटिएको छ।

संकल्पपत्र सार्वजनिक गर्दै डिनाले निर्वाचित भए हरेक घरदैलोमा पुगेर जनताको समस्या सुन्ने र समाधानका लागि निरन्तर काम गर्ने वाचा गर्दै मतदातासँग सहयोग र समर्थनको अपिल गरेकी छन्।