बागमती प्रदेश स्वास्थ्य मन्त्रालयद्धारा नवजात शिशुको स्वास्थ्य अवस्था गम्भीर बनेपछि हवाई उद्धार, काठमाडौँमा उपचार सुरु

पालिका संचारकर्मी
७ फाल्गुन २०८२, बिहीबार ०९:१२

हेटौंडा — धादिङ जिल्लाको खनियाबास गाउँपालिकास्थित खनियाबास ग्रामीण अस्पतालमा जन्मिएको एक नवजात शिशुको स्वास्थ्य अवस्था गम्भीर बनेपछि बुधबार हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको छ।

मंगलबार बिहान करिब ९ बजेर २० मिनेटमा जन्मिएको करिब ३ हजार ७ सय ग्राम तौलको शिशु जन्मिएलगत्तै नरोएको, शरीर निलो देखिएको तथा अक्सिजनको मात्रा ९४ प्रतिशतभन्दा कम भएपछि अवस्था जटिल बनेको थियो। जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख अर्जुन पौडेलका अनुसार ग्रामीण अस्पतालमै तत्काल प्रारम्भिक उपचार गरिएको थियो।

तर आवश्यक विशेषज्ञ सेवा तथा उपकरणको अभाव भएपछि बागमती प्रदेश स्वास्थ्य मन्त्रालय र स्वास्थ्य निर्देशनालयको समन्वयमा १९ वर्षीया आमा चुनमायासहित शिशुलाई थप उपचारका लागि काठमाडौँ पठाइएको हो।

दिउँसो १ बजेर २० मिनेटमा हेलिकप्टरमार्फत शिशुलाई कान्ति बाल अस्पताल पुर्‍याइएको छ। अस्पताल पुगेपछि नवजात सघन उपचार कक्षमा भर्ना गरी विशेषज्ञ चिकित्सकको निगरानीमा उपचार सुरु गरिएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. नरेन्द्र कुमार झाले जानकारी दिनुभयो।

दुर्गम क्षेत्रमा विशेषज्ञ सेवा अभाव हुँदा जटिल अवस्थाका बिरामीलाई हवाई उद्धारमार्फत सुविधा सम्पन्न अस्पतालमा पठाउने गरिएको स्वास्थ्य निकायले जनाएको छ।