मकवानपुर–२ मा राप्रपा उम्मेदवार थोकरको घरदैलो अभियान, मतदातासँग प्रत्यक्ष संवाद
मकवानपुर । प्रतिनिधिसभा सदस्य पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मकवानपुर क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएका रामबहादुर थोकरले निर्वाचन प्रचारप्रसारलाई तीव्र बनाएका छन् । चुनावको मिति नजिकिँदै जाँदा उनले मतदातासँग प्रत्यक्ष भेटघाट र संवादलाई अभियानको मुख्य आधार बनाएका हुन् ।
बुधबार उनले मनहरी गाउँपालिका–६ अन्तर्गत लोथर र नयाँबस्ती, राक्सिराङ गाउँपालिका–३ को सरिखेत तथा वडा नम्बर ५ को कुत्तसिङलगायत विभिन्न स्थानमा पुगेर स्थानीयसँग छलफल गरेका थिए । भेटघाटका क्रममा उनले जनताका समस्या, गुनासा र अपेक्षाबारे जानकारी लिँदै ती सुझावलाई आगामी राजनीतिक यात्रामा समेट्ने प्रतिबद्धता जनाए ।
थोकरले आफूले पाउने प्रत्येक मतको उच्च सम्मान गर्ने बताउँदै सधैं जनताको मुद्दालाई केन्द्रमा राखेर अघि बढ्ने संकल्प व्यक्त गरे । उम्मेदवारी दर्ता गरेपछि जनताको घरदैलोमा पुगेर उनीहरूको आवाज सुन्नु आफ्नो दायित्व भएको उल्लेख गर्दै उनले जनपक्षीय भूमिकालाई इमानदारीपूर्वक निर्वाह गर्ने बताए ।
प्रचार अभियानका क्रममा उनले राष्ट्र, राष्ट्रियता र राजसंस्थाको संरक्षणका लागि राप्रपालाई मत दिन आग्रह गर्दै आएका छन् । राष्ट्रिय पहिचानको जगेर्ना र संरक्षणका लागि राप्रपालाई विजयी गराउनुपर्नेमा जोड दिँदै उनले मतदाताको घरआँगनमै पुगेर समर्थनको अपिल गरिरहेका छन् ।

पालिका संचारकर्मी 






