मनहरी–हेटौंडा क्षेत्रमा गैंडा देखिएपछि स्थानीय बासिन्दा त्रसित, हात्ती प्रयोग गरी जंगल फर्काउने प्रयास जारी
हेटौंडा– मकवानपुरको मनहरी गाउँपालिका र हेटौंडा–१९ आसपासका बस्ती क्षेत्रमा गैंडा देखिन थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्। हाँडीखोला, सानान्टारलगायत क्षेत्रमा गैंडा पटक–पटक देखिन थालेपछि सम्भावित जोखिम न्यूनीकरणका लागि पर्सा राष्ट्रिय निकुञ्जको टोली सक्रिय भएको छ।
स्थानीयको आग्रहपछि पर्सा राष्ट्रिय निकुञ्जबाट ल्याइएका दुई वटा हात्ती प्रयोग गरी गैंडालाई सुरक्षित रूपमा उसको प्राकृतिक बासस्थानतर्फ फर्काउने प्रयास भइरहेको छ। शुक्रबार मनहरी गाउँपालिका–३ लामिटारको भोटेखोल्सी क्षेत्रमा देखिएको गैंडालाई प्रतापपुरको जंगलतर्फ लैजान दुई हात्ती र तीन ट्याक्टरको सहयोगमा प्रयास गरिए पनि सफल हुन सकेन।
सेना, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा निकुञ्जको टोलीले दिनभर गैंडालाई ‘कोर एरिया’तर्फ धपाउने प्रयास गरेको थियो। पछि गैंडा मनहरी गाउँपालिका–९ जैसिङ खरंगाको जंगलभित्र पसेपछि हात्तीसहितको टोलीले त्यहीँबाट निगरानी जारी राखेको छ।
पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गत लामिटार पोष्टका रेञ्जर प्रणय झाले गैंडा हाल डिल्लीपुर माथिको भाइरल पुल नजिकको जंगल क्षेत्रमा रहेको जानकारी दिए। उनका अनुसार शनिबार बिहानदेखि पुनः हात्ती गस्ती सुरु गरी गैंडालाई सुरक्षित बासस्थानतर्फ लैजाने प्रयास गरिनेछ।
निकुञ्जका अनुसार उक्त गैंडा मनहरी गाउँपालिका–६ प्रतापपुर क्षेत्रको जंगलमा रहेको समूहबाट छुट्टिएर बस्ती नजिक आएको हुनसक्ने अनुमान गरिएको छ। धनजनको क्षति हुन नदिन र गैंडालाई सुरक्षित रूपमा जंगल फर्काउन सेना, प्रहरी तथा स्थानीयवासीबीच समन्वय भइरहेको जनाइएको छ।
यसैबीच, पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गत उज्वल भविष्य मध्यवर्ती उपभोक्ता समितिका सचिव जयराम रिजालले गैंडालाई वस्तीबाट टाढा राख्न आवश्यक सहकार्य भइरहेको बताए। उनका अनुसार स्थानीयको सहयोगमा हात्तीसहितको टोलीलाई मनहरी–३ लामिटारदेखि मनहरी–९ जैसिङसम्म पुर्याइएको हो।
निकुञ्ज र उपभोक्ता समितिले स्थानीयलाई साँझ तथा बिहान अनावश्यक रूपमा घरबाहिर ननिस्कन, साथै गैंडा वा अन्य जंगली जनावर देखिएमा तुरुन्त सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरेका छन्।

पालिका संचारकर्मी 






