भीमफेदी गाउँपालिकाको उदाहरणीय पहल: महिला स्वास्थ्य स्वयंसेविका सामाजिक सुरक्षा कोषमा आबद्ध हुँदै
मकवानपुर/ मकवानपुरको भीमफेदी गाउँपालिकाले समुदायस्तरमा स्वास्थ्य सेवा पुर्याउँदै आएका महिला स्वास्थ्य स्वयंसेविकाको भविष्य सुरक्षित गर्ने उद्देश्यले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया सुरु गरेको छ।
गाउँपालिकाले हाल ४८ जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई सामाजिक सुरक्षा कोषमा समेट्ने तयारी गर्दै आवश्यक अनुशिक्षणसमेत सम्पन्न गरिसकेको छ। गाउँपालिका अध्यक्ष हिदम लामाका अनुसार सबै प्रक्रिया पूरा गरी केही दिनभित्रै स्वयंसेविकालाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराइनेछ।
अध्यक्ष लामाले आधारभूत स्वास्थ्य सेवामा निरन्तर योगदान दिँदै आएका महिला स्वास्थ्य स्वयंसेविकाको भूमिकाको कदरस्वरूप पालिकाकै पहलमा सामाजिक सुरक्षा योजनामा समावेश गर्न लागिएको जानकारी दिए। यस कदमले स्वयंसेविकाको भविष्य सुरक्षित हुनुका साथै उनीहरूको कामप्रतिको प्रेरणा अझ बढ्ने विश्वास लिइएको छ।
भीमफेदी गाउँपालिका यसअघि नै अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने देशकै पहिलो स्थानीय तहका रूपमा परिचित भइसकेको छ। आर्थिक वर्ष २०८० र २०८१ मा पालिकाले १ सय ९७ जना अनौपचारिक श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराइसकेको छ, जसमा निर्माण क्षेत्रका श्रमिकको संख्या उल्लेख्य छ।
अनौपचारिक श्रमिकका लागि तोकिएको मासिक १० हजार ८२० रुपैयाँ पारिश्रमिकमध्ये श्रमिकबाट ११ प्रतिशत र गाउँपालिकाबाट ९ दशमलव ३७ प्रतिशत योगदान गरी प्रतिमहिना जम्मा २ हजार २०४ रुपैयाँ सामाजिक सुरक्षा कोषमा जम्मा हुने व्यवस्था गरिएको छ।
भीमफेदी गाउँपालिका र सामाजिक सुरक्षा कोषबीच ३० साउन २०८० मा औपचारिक सम्झौता भएको थियो। सामाजिक सुरक्षा कोषले भने ११ मंसिर २०७७ सालदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ।

पालिका संचारकर्मी 






