सुन्दरढोका साथी सेवाले अपाङ्गता परियोजना हस्तान्तरण, स्थानीय सरकारको सहकार्य
कैलाश गाउँपालिकामा तीन वर्षदेखि अपाङ्गताको क्षेत्रमा सेवा प्रदान गर्दै आएको सुन्दरढोका साथी सेवाले सामाजिक परिक्षण तथा परियोजना प्रतिवेदन गाउँपालिकालाई हस्तान्तरण गरेको छ।
मंगलबार आयोजित कार्यक्रममा संस्थाकी कार्यकारी निर्देशक विजता अधिकारीले दस्तावेज गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानलाई हस्तान्तरण गरेकी थिइन्। अध्यक्ष मुक्तानले अपाङ्गता र जीविकोपार्जन क्षेत्रमा गरिएको योगदानको प्रशंसा गर्दै प्रतिवेदनले स्पष्ट सकारात्मक परिणाम देखाएको बताए।
उहाँले भने, “स्थानीय सरकारले अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको छ। यसले नागरिकको सोचमा परिवर्तन ल्याएको छ। आगामी दिनमा अपाङ्गमैत्री छात्राबास निर्माणमा ललितपुर महानगर, कैलाश गाउँपालिका र सुन्दरढोकाको साझेदारी हुनेछ।”
कार्यक्रममा उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले संस्थाको कामको सराहना गर्दै अपाङ्गता परिचय कार्ड वितरणले नागरिकका लागि धेरै सुविधा प्रदान गर्ने बताए।
संस्थाकी कार्यकारी निर्देशक अधिकारीले भौगोलिक चुनौतीका बाबजुत तीन चरणमा कार्यक्रम सञ्चालन भएको जानकारी दिँदै अपाङ्गता भएका नागरिकलाई घरमै उपचार, सीपमूलक तालिम र जीविकोपार्जनका अवसर उपलब्ध गराइएको जानकारी गराइन्।
कार्यक्रममा परियोजना संयोजक राम पार्कीले प्रगति प्रतिवेदन प्रस्तुत गरे। विभिन्न वडा अध्यक्ष, शाखा प्रमुख र संघसंस्थाका प्रतिनिधिहरूले आफ्नो धारणा राखे।

पालिका संचारकर्मी 






