कैलाश गाँउपालिकामा सकियो लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान

पालिका संचारकर्मी
२४ मंसिर २०८२, मंगलवार १५:३७

मकवानपुरको कैलाश गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सोमबार सम्पन्न भएको छ। “प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने नारासहित सञ्चालन गरिएको अभियान विभिन्न विद्यालयहरूमा कार्यक्रम गर्दै समापन गरिएको हो।

कैलाश–९ स्थित कालिका माविबाट सुरु भएको अभियान कैलाश–६ को व्यास माविमा पुगेर सकिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख रमिला सापकोटाले जानकारी दिइन्। कक्षा ८ देखि १२ सम्मका करिब ५०० विद्यार्थी अभियानमा प्रत्यक्ष रूपमा सहभागी भएका थिए।

वडा नं. २ स्थित कमलादेवी माविमा सम्पन्न कार्यक्रममा सामाजिक विकास समितिका संयोजक एवं वडाध्यक्ष राजेन्द्र घिसिङले शिक्षा बिना व्यक्ति अघि बढ्न नसक्ने भन्दै बालविवाह र प्रविधिको दुरुपयोगबाट हुने हिंसाप्रति सचेत रहन विद्यार्थीलाई आग्रह गरे।

यसअघि कैलाश–१० को रत्नज्योति मावि, कैलाश–३ को भवानी मावि र कैलाश–८ को धुवाङ माविमा पनि अभियान सञ्चालन गरिएको थियो।