बागमती प्रदेश सभा बैठक सुरु

पालिका संचारकर्मी
२३ माघ २०८१, बुधबार १२:४९

मकवानपुर । बागमती प्रदेश सभाको बैठक सुरु भएको छ । विहान ११ बजे डाकिएको प्रदेशसभाको बैठक झण्डै एक घण्टा पछि सुरु भएको हो । बागमती प्रदेशसभाको आजको बैठकमा ‘प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक,’ तथा ‘प्रादेशिक व्यापार तथा व्यवसायीसम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ पेस हुँदैछ ।

बैठकमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक तथा प्रदेश खेलकुद ऐन संशोधन गर्न बनेको विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । यसअघि हिजो बागमती प्रदेशका सभामुख भुवन कुमार पाठकको आव्हानमा झण्डै ३ घण्टा लामो सर्वदलिय बैठक बसेको थियो ।

बागमती प्रदेश सरकारले ल्याएका विभिन्न चार वटा विधेयक तथा विभिन्न समितिमा छलफल भई प्रतिवेदन तयार भएका केही विधेयकलाई छलफल गरी पारित गर्नुपर्ने भएकाले सहमतिका लागि बैठक बसेको हो ।

बैठकले सरकारले यसअघि प्रतिपक्षसँग गरेको सहमतिलाई कार्यान्वयन गर्ने मौखिक प्रतिबद्धता दिएको छ । बैठकमा सरकारसँग ठोस सहमति नभैसकेको भएतापनि आजको सदन अवरोध नगर्ने नेकपा माओवादी केन्द्र संसदयी दलका नेता शालिकराम जम्कट्टेलले बताएका छन् ।