जनताको माग अनुसार रेलमार्गको विकल्प खोज्न सरकार तयार छ : मन्त्री ज्वाला
नारायणगढ । भौतिक पूर्वाधार तथा यातायत मन्त्री प्रकाश ज्वालाले पूर्व पश्चिम विद्युतिय रेलमार्गको रेखाङ्कनका क्रममा सर्वसाधरण जनताले उठाएका समस्याको सम्बोधन हुने बताउनुभएको छ । चितवनमा शनिबार हुने विभिन्न कार्यक्रमहरुमा भाग लिन आउनुभएका मन्त्री ज्वालाले भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै जनताकै माग अनुसार रेलमार्गको विकल्प खोज्न पनि सरकार तयार रहेको स्पष्ट पार्नुभयो ।
“रेलमार्गको सिमाङ्नकाको काम भैरहेको छ । यो पहिलैदेखि सुरु भएको काम हो । सर्भेका क्रममा चितवन आउँदा भरतपुरका जनप्रतिनिधी र सर्वसाधरण जनताले सिमाङ्कनका विषयमा असन्तुष्टि जनाउनुभएको कुरा मन्त्रालयमा गएरै ध्यानाकर्षण गराउनुभएको छ । त्यसमा हामी छलफल र अध्ययन गर्दै छौ”, उहाँले भन्नुभयो ।
मन्त्री ज्वालाले जनताका असन्तुष्टि एवम् गुनासाहरु सरकारले सुन्नपर्ने धारणा पनि राख्नुभयो । “छलफल अनुसन्धान र अध्ययनबाट एउटा निश्कर्ष निकाल्ने छौँ । यथार्थ अवस्था, जनताको भनाइ के हो वुझेर नै नयाँ निर्णय लिने छौं”, उहाँको स्पष्ट भनाइ छ । उहाँले जनताको विरोध आएपछि नयाँ निर्णय नभएसम्मका लागि अहिले सिमाङ्कनको काम नै रोकिएको जानकारी दिनुभयो ।
“आवाज उठेपछि विरोध भैसकेपछि त्यो विषयमा अहिले काम नगर्ने भनेर रेङ्कनकै काम रोकिएको अवस्था छ”, उहाँले भन्नुभयो । उहाँले अहिले सिमाङ्कन भएको विकल्पहरुका पनि छलफल हुन सक्ने धारणा राख्नुभयो ।
“सरकार उपयुक्त विकल्पको खोजीमा छ । यसमा यहाँका जनप्रतिनिधीहरुको पनि राय सुझाव के आउँछ त्यसैलाइ आधार बनाएर अगाडी बढ्ने हो”, उहाँले भन्नुभयो । रेल विभागले सुरु गरेको रेल मार्गको अध्ययनमा निजगढबाट हेटौँडा हुँदै चितवन प्रवेश गर्ने रेलमार्ग पूर्व पश्चिम महेन्द्र राजमार्गभन्दा दक्षिण तर्फबाट अघि बढाएर नारायणी नदी तारेर नवलपरासीको अमरापुरी पुर्याउने प्ररम्भिक नक्साङ्कन तयार छ । यसरी रेल मार्ग जाँदा चितवनको भरतपुर महानगरको वडा नम्वर ८, ७, ५ र ४ नम्वर वडा हुँदै जाने देखिन्छ । यहि सिमाङ्कनको विषयमा चितवनमा संर्घष समिति नै बनाएर विरोधका कार्यक्रम गर्न थालिएपछि सरकारले यसको विकल्पको लागि तत्परता देखाएको हो ।
यस्तै अहिले बजेट अभावकै कारण देशभरीकै ठूला सडक निर्माणको काममा समस्या परेको पनि उहाँले जनाउनुभयो । “बजेटमै हाम्रो मन्त्रालयको सिलिङ्ग ३७ अर्व रुपियाँले घटेको छ । यसले समग्र निर्माण कार्यमा समस्या त पर्ने नै भयो”, उहाँले भन्नुभयो । अहिले कतिपय स्थानका आयोजनाहरुमा बजेटसँगै राइटअफ वेको समस्या पनि देखिएको उहाँले जनाउनुभयो ।
“आइलागेका समस्या पहिचान गर्ने छलफल गर्ने र अर्थ मन्त्रालयसग वजेट माग गरेर समाधान गर्ने गरि अघि बढेका छौं” उहाँले भन्नुभयो ।
नारायणगढ वुटवल, नारायणगढ मुग्लिन, नारायणगढ गोन्द्राङमा रहेका सडक तथा पुलका निर्माणको कामहरु तिब्र रुपमा अगाडी बढेको र यसले छिटटै निर्माण सम्पन्न हुने दावि पनि उहाँले गर्नुभयो ।
“नारायणगढ मुग्लिन सडकको काम सकियो ,केही समस्या मर्मत सुधारवाट पनि समाधान हुने छ । पुलहरुको समस्या पनि समाधान भएको छ । केही दिन अघि केही पुलहरु सञ्चालनमा ल्याएका छौँ । एउटा पुलको काम अहिले भैरहेको छ अब छिट्टै नारायणगढ मुग्लिन सडक सहज हुने छ । नारायणगढ वुटवल सडकको काममा तिब्रता आएको छ । समस्या ग्रस्त रुपमा रहेका आयोजनालाइ समस्या समाधान गर्दै त्यसको गति दिने काम अहिले भैरहेको छ”, मन्त्री ज्वलाले भन्नुभयो ।

पालिका संचारकर्मी 





